बेलायतमा एकै दिन एक लाख छ हजारमा कोरोना संक्रमण
बेलायतमा दैनिक कोरोना संक्रमित संख्या बढ्दै गएको छ । बुधबार एकै दिन पहिलो पटक महामारीयताकै सबैभन्दा बढी एक लाख छ हजार १२२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।
नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्युमा भने वृद्धि भएको छैन । यसैगरी अस्पताल भर्ना हुनेको संख्यामा पनि खासै परिवर्तन भएको छैन । यसअघि कोरोनाको दोस्रो लहरका बेला अस्पताल भर्ना हुनेको संख्या ३९ हजार नाघेको थियो । तर, अहिले अस्पताल भर्ना हुनेको संख्या पाँच गुणाले कम छ । अहिले बेलायतका अस्पतालमा कोरोनाका भर्ना हुनेको संख्या आठ हजार रहेको छ । संक्रमण दर उच्च रहेपनि यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोनले कम असर गरेको र कमै व्यक्तिलाई अस्पताल भर्ना हुनुपरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४० जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ५७३ पुगेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले बुस्टर डोजलाई निकै तीव्रताकासाथ अघि बढाएको छ । दैनिक एक लाख बुस्टर डोज वितरण गर्ने सरकारले लक्ष्य राखे अनुसार बुधबार नौ लाख ६८ हजार ६६५ डोज खोप वितरण गरेको छ । पछिल्लो एकसाताभित्र ६१ लाख जनालाई बुस्टर डोज दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ९५ लाख ७९ हजार ५६९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १५ लाख ७७ हजार ७८२ जना अर्थात् ८९।७ प्रतिशतले खोपको पहिलो र ४ करोड ७१ लाख ५६ हजार ८९९ जना अर्थात् ८२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी ३ करोड ८ लाख ४४ हजार ८८८ अर्थात् ५३।६ प्रतिशतले बुस्टर डोज लगाएका छन् । रातोपाटीबाट