एमालेद्वारा बागमती प्रदेशसभाको बैठक अवरुद्ध

जनपत्र
७ पुष २०७८, बुधबार १७:०१

मकवानपुर — वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको वैठक अवरुद्ध गरेको छ । एमाले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।

बुधबार दिउँसो १ बजेका लागि आव्हान गरिएको प्रदेशसभाको बैठकमा एमालेले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले पछिल्लो समय गरेको गलत कामको जवाफ दिनुपर्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अडान राखेसँगै प्रदेशसभाको वैठक दुईघण्टा ढिला गरी बसेको थियो । बैठकको सुरुवातमै पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विशेष समय लिएर बोलेका थिए । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने, गौरवको आयोजना कटौती फिर्ता लिनुपर्ने तथा मन्त्रालय विभाजनको विषयको मुख्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेका थिए ।

पौडेलले बोले लगत्तै एमाले सांसदहरूले सदनमा उठेर अवरोध सिर्जना गरेका थिए । उनीहरूको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको वैठक पुस ८ गते बिहीबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*