नेपाल वायुसेवा निगम निजीकरण हुँदैन : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई निजीकरण नगर्ने बताएका छन् । नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तर्क्रियामा मन्त्री आलेले निगमलाई निजीकरण नगर्ने बताएका हुन् ।
निगम व्यवस्थापन र कर्मचारीबीच पर्यटनमन्त्री आलेले निगमलाई निजीकरण नगर्ने घोषण गर्दै निजीकरण गर्ने प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेर सुनाएका थिए । मन्त्रीको उक्त निर्णयलाई कर्मचारीले तालीले स्वागत गरेका थिए । यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना पठाएको थियो ।
निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी संगठनले १०४ दिनसम्म आन्दोलन गरेका थिए। पर्यटनमन्त्रीले कर्मचारी युनियनसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नयाँ जहाज खरिदका लागि रकम माग गरेका थिए । आलेले १३ वटा नयाँ जहाज खरिद गर्ने योजना अघि सारेको बताएका थिए । आलेले चालू आर्थिक वर्षभित्र ४ वटा नयाँ जहाज खरिद गर्ने तयारी आफूले गरेको जानकारी दिएका थिए। हाल निगमसँग २ वटा वाइडबडी, २ वटा न्यारोबडी र ८ वटा ट्विनेटर जहाज छन्। ८ वटा ट्विनेटर जहाजमध्ये ५ वटा जहाज ग्राउन्डेड छन्।