हुम्लामा हावाहुरीको असर, हवाई उडान बन्द

जनपत्र
५ पुष २०७८, सोमबार ०८:०९

हावाहुरीका कारण हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । हिजो दिनभर हावाहुरी लाग्दा आवतजावतमा समेत निकै कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । अस्ति शनिवारदेखि नै सुरु भएको हावाहुरीका कारण हिजो जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत बन्द भएको थियो । हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो ।

हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन सकेन । यस्तै जिल्लाबाहिर जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् भने हुम्ला जाने यात्रुहरु नेपालगञ्जमै रोकिएका छन्। हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ ।

आज भने हावाहुरी रोकिएकाले अवस्था सामान्य बन्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार हिजो दिनभर नै जनजीवन प्रभावित भएको थियो । आज हावाहुरी नचले हवाई सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसैबीच, मौसमविद्ले आज खासै हुरी चल्ने सम्भावना नरहेको बताएका छन् । उपल्लो वायु मण्डलमा बनेको निम्न चापीय क्षेत्रका कारण हिजो हुरी चलेको हुन सक्ने भए पनि खास कारण नभएको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँकाअनुसार निम्न चापीय क्षेत्र नेपालबाट दक्षिणतिर सरिसकेकाले ठूलो हुरी चल्ने सम्भावना छैन । तर, देशका पूर्वी क्षेत्रमा भने हल्का हावा चल्ने अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*