लिगमा आज एक खेल: रणनीति फेर्दै हिमालयन शेर्पा

जनपत्र
४ पुष २०७८, आईतवार ०८:४१

शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा शेर्पा र ब्रिगेड ब्वाइज पौने ५ बजे आमने सामने हुनेछन्। अंकतालिकामा ४ खेलबाट २ अंक जोडेर रेलिगेशन जोनबाट माथि उक्लन संघर्ष गरिरहेको हिमालयन शेर्पाले आज फरक रणनीतिका साथ मैदान उत्रने अफसियल विजय पुडासैनीले बताए।

‘पाँचौ चरण सुरु हुँदा दुई अंक जोडेका छौं। जित्ने लक्ष्यका साथ मैदान उत्रने छौं,’ उनले भने, ‘प्लेइङ सेटलाई फेरेर रणनीति फेरेर आउँदै छौं। दवाब छ। टप ६ हाम्रो लक्ष्य हो।’

शेर्पाका प्रशिक्षक युगल किशोर राई अस्वस्थ हुँदा टीमको प्रदर्शन पनि प्रभावित भएको देखिन्छ। यसअघिका खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबसँग हिमालयन शेर्पाले समान १(१ को बराबरी खेलको थियो भने मनाङ मर्स्याङदी क्लबसँग १(० ले पराजित हुँदा मछिन्द्र क्लबसँग ३-० को पराजय ब्यहोरेको थियो।

उता ब्रिगेड ब्वाइजले आजको खेल जितेको खण्डमा पाँचौं स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्नेछ। ब्रिगेड ब्वाइजले १ जित, दुई बराबरी र १ पराजय ब्यहोर्दै ५ अंक जोडेको छ। पहिलो खेलमा एपीएफलाई ३-२ गोलअन्तरले हराएको ब्रिगेडले दोस्रो खेलमा न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-० को पराजय ब्यहोर्दा पछिल्लो खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो।

लिगको पाँचौ चरण चलिरहँदा मनाङ मर्स्याङदी क्लब १३ अंकसहित शीर्ष स्थानमा छ भने ११ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ। त्यस्तै समान ९ अंक जोडेका आर्मी र संकटा क्रमश तेस्रो र चौथो स्थानमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*