पाँच महिनामा साढे ६ प्रतिशत विकास बजेट खर्च, पोहोरभन्दा ४ प्रतिशतले कम

जनपत्र
१ पुष २०७८, बिहीबार १५:०३

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पुँजीगत खर्च अर्थात् विकास बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ । सरकारी आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि मङ्सिरसम्म जम्मा ६ दशमलव ४६ प्रतिशत विकास बजेट खर्च भएको छ ।

यो वर्ष चार खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ विकास बजेट विनियोजन भएकोमा मङ्सिरसम्म जम्मा २७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । यो जम्मा ६ दशमलव ४६ प्रतिशत हो । यस्तै गएको वर्षको तुलनामा झन्डै चार प्रतिशतले कमी हो । गएको वर्षको पहिलो पाँच महिनामा १० दशमलव १३ प्रतिशत विकास बजेट खर्च भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले योजना बनाएरै हरेक महिना झन्डै १० प्रतिशतका दरले विकास खर्च गर्ने घोषणा गरे पनि खर्चको अवस्था भने निकै कम देखिएको छ ।

यस्तै पाँच महिनामा तीन खर्ब १३ अर्ब रुपैयाँ अर्थात् ३१ दशमलव ६१ प्रतिशत चालु खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ४१ अर्ब ३० करोड रुपैयाँ अर्थात् २१ दशमलव ८ प्रतिशत रकम खर्च भएको छ ।

यस्तै कुल राजस्व सङ्कलनको लक्ष्य ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेकोमा पाँच महिनामा चार खर्ब नौ अर्ब रुपैयाँ अर्थात् ३४ दशमलव ९३ प्रतिशत सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

पाँच महिनामा विदेशी अनुदान शून्य रहेको छ । बजेटमार्फत सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदानको अपेक्षा गरेकोमा अहिलेसम्म वैदेशिक अनुदान प्राप्त नभएको देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*