बागमतीमा एउटै मन्त्रालय तीनटुक्रापार्दा खर्च बढ्यो, आमदानी उही

मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलभित्र भागबण्डा मिलाउनका लागि १४ वटा मन्त्रालय पुर्याउँदा मन्त्रालय राख्ने भवनको अभावसंगै खर्च पनि निकै बढेर गएको छ ।
जनपत्र
१ पुष २०७८, बिहीबार ११:१७

हेटौंडा । बागमती प्रदेशमा एटटै मन्त्रालय तीनटुक्रापार्दा खर्च बढेको छ । प्रदेश सरकारको आमदानी भने उही छ । सात वटा मन्त्रालयलाई १४ वटा पारेपछी हेर्टौंडामा पहिले जिल्ला स्तरका सरकारी कार्यालयलाई निर्माण गरिएका पुराना र जिर्ण भवनमा तीन वटा सम्म मन्त्रालय राख्नुपर्ने बाध्यता बढेको छ । कुनै मन्त्रालय भाडाको घरमा राखिएको छ ।

प्रदेश र जिल्ला स्तरका कार्यालयहरु धेरै भाडाका घरमा छन् । सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालय तीन टुक्रा सम्म पार्दा मन्त्रीका लागि गाडी, सचिवालयका पाँच जना कर्मचारीका लागि तलब भत्ता, सुविधाले प्रदेश सरकारको खर्च निकै बढेको छ । तर, आमदानी भने उत्तिकै रहेको छ । मन्त्रालय टुक्रा पारेर मन्त्री नियुक्त गरेपनि बस्ने समस्या नहुँदा झनै समस्या परेको छ । कर्मचारी अभाबका कारण मन्त्रीहरुका लागि निजी सचिब समेत दिन नसकिएको मन्त्रालयका एक जना सचिबले जानकारी दिनुभयो । मन्त्रालय फुटाउने र मन्त्री थप्ने प्रबृतिको कर्मचारीले पनि बिरोध गरेका छन् । तर, बोल्न भने सकिरहेका छैनन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलभित्र भागबण्डा मिलाउनका लागि १४ वटा मन्त्रालय पुर्याउँदा मन्त्रालय राख्ने भवनको अभावसंगै खर्च पनि निकै बढेर गएको छ । गठबन्धनमा रहेका दलहरुमा भागबण्डा मिलाउन उहाँले ६ वटा मन्त्रालय थप गरिसके पनि मन्त्रिपरिषद्लाई भने पूर्णता दिइसक्नु भएको छैन । अब काग्रेशका मन्त्रीहरु नियुक्त गर्न अझै बाँकी रहेको छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको बताए पनि सत्तारुढ गठबन्धनका दलबीच भागबण्डा मिलाउन मन्त्रीको संख्या थप्नुभएको हो । सत्तामा आफु टिकीराख्नका लागि मन्त्रालयहरु फुटाएको पै्रतिपक्षिदल नेकपा एमालेका सांसदहरु बताउँछन् ।

मन्त्रालय विभाजन भएसँगै प्रदेश सरकारको खर्च पनि बढ्ने निश्चित छ। प्रदेशका मन्त्रीहरुको सेवासुविधा, मन्त्रालयका लागि कर्मचारी तथा भवनलगायत विभिन्न शीर्षकमा प्रदेशको ढुकुटी रित्तिने स्पष्ट छ। प्रदेशका मन्त्रालय सरकार गठन भएको ४ वर्षसम्म विभिन्न सरकारी कार्यालयका भवनमा बस्दै आएका छन्।

हाल कायम रहेका मन्त्रालयले नै बस्ने ठाउँ, कर्मचारी र गाडी अभाव भएको बताइरहेका छन्। यस्तोमा ६ वटा मन्त्रालय थपिँदा प्रदेश सरकारमा अन्य धेरै आर्थिक भार थपिने स्पष्ट छ। बागमतीमा स्वास्थ्य मन्त्रालय विस्तार भएको ३ महिनाभन्दा बढी भयो। तर, अझैसम्म पनि सानो ठाउँ, थोरै कर्मचारी र स्रोतसाधन अभाव रहेकाले मन्त्रालयले प्रभावकारी काम गर्न सकेको छैन। सामाजिक विकास मन्त्रालयबाट विभाजन भएर ३ महिना पहिले बनेको स्वास्थ्य मन्त्रालय सामाजिक मन्त्रालयकै भवनमा बस्दै आएको छ।

साढे ३ वर्षसम्म एउटा मात्र मन्त्रालय बस्दै आएको भवनमा दुईवटा मन्त्रालय बस्दा ठाउँ अपुग भएको मन्त्रालयको प्रवक्ता बसन्त अधिकारी बताउनुहुन्छ । ‘एउटा मन्त्रालयलाई ठिक्क भइरहेको भवनमा दुईवटा मन्त्रालय बस्दा ठाउँ अपुग नै छ। ठाउँ नपुग्दा मन्त्रालयको विभिन्न शाखा र कर्मचारीलाई एउटै कोठामा राखिएको छ । सबै मन्त्रालयहरुमा आवश्यक कर्मचारी नहुँदा मन्त्रालयले प्रभावकारी तवरमा काम गर्न सकेको छैन। मन्त्रालयसँग सवारीसाधन पनि आवश्यकताअनुसार नहुँदा असहज भइरहेको छ।

प्रदेश सरकार स्थापनाको सुरुवातमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरेर सरकारले काम थालेको थियो। पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय स्थापना गर्नु भएको थियो । उहाँको सरकारले तत्कालीन जिल्ला वन कार्यालय रहेको क्षेत्रमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, वन कम्प्लेक्स भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शिक्षा विकास कार्यालय हटाएर सो भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखेको थियो। त्यस्तै, कीटजन्य रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रका केही भवनमा सामाजिक विकास मन्त्रालय, श्रम तथा रोजगार कार्यालयको नवनिर्मित भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालय स्थापना गरेर काम सुरु गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*