महिलालाई नेतृत्वमा ल्याउंदै माओवादी,गण्डकी र कर्णाली प्रदेशका अध्यक्ष दुवै महिला

जनपत्र
१ पुष २०७८, बिहीबार ०७:०७

माओवादी केन्द्रको प्रदेश अधिवेशनमा विवाद हुंदा नेतृत्व चयनमा समस्या भएको छ । माओवादी केन्द्रमा लुम्बिनी,प्रदेश १,बागमती र सदुरपश्चिम प्रदेशमा नेतृत्व चयनमा विवाद हुंदा प्रदेश पदाधिकारीको टुंगो लाग्न सकेको छैन । यद्यपी प्रदेश समिति सदस्यहरुको भने घोषणा भइसकेको छ । प्रदेशको नेतृत्वको टुंगो लागेको गण्डकी र कर्णालीमा भने माओवादी केन्द्रले प्रदेशको नेतृत्व गर्ने जिम्मा महिला नेतृहरुलाई दिएको छ ।

माओवादी केन्द्रले बुधवार कर्णाली प्रदेशको अध्यक्षमा विमला केसीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ । उनि यसअघि कर्णाली प्रदेशको तीन वर्ष भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्री थिईन । कर्णाली प्रदेशको अध्यक्षका लागी पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही,राजकुमार शर्मा र रामदिप आचार्य प्रतिस्पर्धामा थिए । तर,पार्टी नेतृत्वले अन्तिममा केसीलाई नै प्रदेशको नेतृत्वको जिम्मा दिएको हो ।

कर्णाली प्रदेशको प्रदेश कमिटीको पहिलो बैठकले रुकुमबाट प्रदेश सांसद रहेकी नेतृ केसीलाई बुधवार सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केसी २०६४ सालमा संविधानसभा सदस्य समेत बनेकी थिईन । उनी माओवादी जनयुद्धमा लागेर विद्यार्थी,महिला संगठन र सांस्कृतिक मोर्चामा आवद्ध भएकी थिईन ।

माओवादीले यसअघि नै गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ्गलाई जिम्मेवारी दिइसकेको छ । उनि गण्डकी प्रदेशसभा सदस्य समेत हुन । गुरुङ्ग माओवादी केन्द्रको तर्फबाट गण्डकी प्रदेश सभामा प्रमुख सचेतक समेत छन् । २०४८ सालदेखि नै राजनीतिमा सक्रिय गुरुङ्ग अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सचिव समेत हुन । माओवादी केन्द्रले पछिल्लो समय महिला र युवालाई नेतृत्वको जिम्मेवारी दिइरहेको छ । काठमाण्डौपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*