बागमती प्रदेशका मन्त्रालयमा ४३ प्रतिशत दरवन्दी रिक्त
हेटौंडा। बागमती प्रदेशका बिभीन्न मन्त्रालय र मातहतका कार्यालयमा ४३ प्रतिशत दरवन्दी खाली रहेको छ । प्रदेशका साविकका मन्त्रालयमा ४३ प्रतिशत दरवन्दी खाली रहेको हो । दरवन्दी खाली हुँदा काम गर्नैका लागि समस्या भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनुभयो । उहाँले संघीय सरकार मातहत काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाउन आग्रह गर्नु भएको छ । निजामती सेवा ऐन नबन्दा झनै समस्या भएको उहाँले बताउनुभयो ।
प्रदेशका हरेक मन्त्रालयमा आवस्यक दरवन्दी नहुँदा काम गर्नैका लागि समस्या हुने गरेको मन्त्रालयका सचिबहरुले वताएका छन् । हेटौंडामा आइतबारबाट भएको शुरु अन्तर प्रदेश समन्वय बैठकमा मुख्यमन्त्री पाण्डेले मुख्य सचिव शंकरदास बैरागीलाई लक्षित गर्दै प्रदेशमा काम गर्न कर्मचारीको अभाव भएकाले संघीय सरकार मातहत काम नगरी बस्नेहरुलाई प्रदेशमा खटाउनुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारी कम भएपछि स्वाभावैले कम काम हुने भन्दै ‘कामै नगरी बस्ने एक थुप्रो कर्मचारी छन् अन्य प्रबन्ध नभएसम्म काजमा भनेपनि खटाइ दिन’ आग्रह गर्नुभयो । बागमती प्रदेशमा कर्मचारी खाली रहेको भन्दै संघीय निजामती सेवा ऐन नआउँदा प्रदेशले कर्मचारीसम्बन्धी ऐन ल्याउन नपाएको पनि गुनासो गर्नुभयो ।
अहिले प्रदेश सरकारले कायम रहेको ८ मन्त्रालयलाई फुटाएर १४ वटा बनाएकाले त्यहाँ सचिवको व्यवस्थापनका लागि संघले चाडै ध्यान दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । पहिला रहेका मन्त्रालयका मन्त्री तथा कर्मचारी मालदार ठाउँमात्र हेर्ने गरेपछि सरकारले मन्त्रालय फुटाएको उहाँले बताउनुभयो ।
संघीय सरकारले नै संघीयताविरुद्ध काम गरिरहेको आरोप लगाउँदै मुख्यमन्त्री पाण्डेले साना योजना प्रदेश र स्थानीय तहबाटै हुने भन्दै त्यस्तामा सशर्त अनुदान बन्द गर्न आग्रह गर्नुभयो । बैठकमा मुख्य सचिव शंकरदास बैरागीले संघीयतापछि पनि जनताले पाउनुपर्ने सेवा समयमा नपाएको भन्दै अब छिटो र छरितो ढंगबाट काम गर्नुपर्ने बताउनुभयो । २८ गतेसम्म चल्ने बैठकमा सातवटै प्रदेशका प्रमुख सचिवहरु सहभागी छन् ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागीले शुसासनको प्रत्याभुति दिलाउन सबै लाग्नुपर्ने बताउनुभयो । जनताले पाउने सेवा सुविधाहरु चुस्त दुरुस्त रुपमा दिए मात्र शुसासन कायम हुने बताउनुभयो । अन्तर प्रदेशमा अस्वस्थ भन्दा पनि स्वस्थ प्रतिस्पर्धाको खाँचो रहेको उहाँले बताउनुभयो । संघीयताको कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण काम रहेको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिब रामप्रसाद थपलिया, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब अर्जुन प्रसाद पोख्रेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, देशभरका सात वटै प्रदेशका प्रमुख सचिबहरु, बागमती प्रदेशका बिभीन्न मन्त्रालयका सचिबहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।