१ सय ९६ किमी सडक कालाेपत्र, १४ किमी सडक ढलान गर्याैँ : मेयर शाक्य
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले एक सय ९६ दशमलव एक किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिएको छ । २७ औँ महानगर दिवसको अवसरमा आज आइतवार पत्रकार सम्मेलनमा सम्बाेधन गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर शाक्यले १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो ।
‘मेरो कार्यकालमा चार सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने दुई सय २६ दशमलव चार किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ’, उहाँले भन्नुभयो, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको छ । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाको स्तरोन्नति गरिएको छ ।’
त्यसैगरी उहाँले अहिलेसम्म २७ वटा ऐन, पाँच वटा नियम, चार वटा निर्देशिका, २० वटा कार्यविधि, तीन वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी दिनुभयो । ‘एक लाख ३७ हजार थान मिसिल डिजिटलाइजेशन गरिएको छ’, मेयर शाक्यले भन्नुभयो, ‘४० वटा राजपत्र र एउटा ऐन सङ्ग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’
उहाँले डाक्टरसहित पाँच हजार सात सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरिएको पनि जानकारी दिनुभयो ।
‘वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको छ’, उहाँले भन्नुभयो, ‘वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ । कोभिड महामारीको उपचारका लागि नाै वटा सरकारी र सामुदायिक अस्पताललाई झन्डै ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ भने छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेशन केन्द्र स्थापना गरिएको छ । कोभिडविरुद्धको खोप तीन लाख ७९ हजार ४३ महिला र तीन लाख ८९ हजार ६ सय १७ पुरुष गरी सात लाख ६८ हजार ६ सय ६६ जनालाई दिइसकिएको छ ।’
मेयर शाक्यले विभिन्न अस्पतालमा स्वास्थ्य उपकरणलगायतका सामग्री सहयाेग गरिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रि.वि. शिक्षण अस्पताललाई सिटी स्क्यान मेशिन खरिद गर्न, १० वटा भेन्टिलेटर मेशिन उपलब्ध गराइएको, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेशिन खरिद गर्न, शहीद गङ्गालाल हृदय केन्द्रलाई अक्सिजन प्लान्ट खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा अएको, रगतका तत्त्व छुट्याउने मेशिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका बिरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डाै कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि जानकारी दिनुभयो ।
त्यसैगरी उहाँले वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन अवस्थामा रहेको पनि जानकारी दिनुभयो । ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ’, मेयर शाक्यले भन्नुभयो, ‘महानगरभित्र झन्डै १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।’
त्यसैगरी पत्रकार सम्मेलनमा नेपाल भाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपाल भाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाण्डाैकाे सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको पनि जानकारी दिनुभयो ।
‘काठमाण्डाैका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरूलाई सहयोग गरिएको छ’, उहाँले भन्नुभयो, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । महानगरबाट एक वडा एक नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको छ ।’
उहाँले आफ्नो कार्यकालमा काठमाण्डाै महानगरपालिकाको आन्तरिक स्राेतबाट महानगरका झन्डै १२ हजार वरिष्ठ ज्येष्ठ नागरिक वार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरूलाई मासिक तीन हजार रुपैयाँ उपलब्ध गराइँदै आएको पनि जानकारी दिनुभयो ।
‘आर्थिक बर्ष २०७५/०७६ देखि ‘ए’ डिभिजनका फुटबल क्लबलाई वार्षिक १० लाख रुपैयाँ, ‘बी’ डिभिजनका फुटबल क्लबलाई तीन लाख रुपैयाँ र ‘सी’ डिभिजनका फुटबल क्लबलाई दुई लाख रुपैयाँ प्रदान गरिँदै आएको छ’, मेयर शाक्यले भन्नुभयो, ‘यस्तै शहीदहरू (दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ । तारादेवी स्मृति फाउन्डेशन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाख रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ ।’