कांग्रेस १४औँ महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता
काठमाण्डाै – नेपाली कांग्रेसका नेता कार्यकर्ता मत माग्न व्यस्त भएका छन् । १४ औँ महाधिवेशनमा आफ्ना नेतालाई मत दिन आग्रह गर्न नेता कार्यकर्ता बिहानैदेखि व्यस्त भएका छन् ।
कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त भएका हुन् । भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ ।
यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन् । काठमाण्डौका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएको छ ।
यस्तै, आफ्ना नेताका नाममा टोपी, टिसर्ट, ज्याकेट, पानीका बोतल, कलमलगायका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् । महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारको अन्तिम नामावली आज दिउँसो सवा १२ बजे प्रकाशन गरिने छ भने मतदान भोलि बिहान ८ बजेदेखि हुने कांग्रेसको केन्द्रीय निवार्चन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । मतदान भृकुटीमण्डप, राष्ट्रिय सभा र नेपाल पुलिस क्लबमा हुनेछ ।
मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको चुनाव हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।