बागमती प्रदेशः अलमलमा ‘पूरक बजेट’

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको घोषणा अलपत्र पर्‍यो
जनपत्र
२६ मंसिर २०७८, आईतवार ०८:०१

मकवानपुर — वाग्मती प्रदेश सरकारको ‘पूरक बजेट’ ल्याउने घोषणा अलमलमा परेको छ । डोरमणि पौडेल नेतृत्वको अघिल्लो सरकारले सदनबाट बहुमतले पास गरेको बजेट हाल सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले खर्च हुनै नसक्ने भन्दै पूरक बजेट ल्याउने घोषणा गरेका छन् । पुसको पहिलो साता खर्च नहुने ठूलाठूला र प्रदेश गौरवको आयोजनाको बजेट कटौती गरेर पूरक बजेट ल्याउने बताए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको घोषणा अलमलमा परेको हो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरी खर्च नहुने बजेटको विषयमा सचिवहरूसँग कार्यक्रमको सूची मागिसकेका छन् । ‘केही आयोजना किटान नै गरेर हटाउन लगाइएको छ भने केही खर्च नहुने योजना र बजेटको विषयमा मुख्यमन्त्रीबाट चासो व्यक्त भएको छ,’ एक मन्त्रालयका सचिवले भने ।

प्रदेश सरकारले गौरवको योजनाको रूपमा राखेको विद्युतीय बस सञ्चालन र सुरुङ मार्ग निर्माणजस्ता ठूला आयोजनाको काम रोक्न निर्देशन दिइसकेका छन् । केही मन्त्रालयले खर्च नहुने बजेटको सूची तयार गरे पनि मन्त्रिविहीन अवस्थामा रहेका आठ वटा मन्त्रालयले अझै काम सुरु गरेका छैनन् । ‘हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमै छौं । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पूरक बजेट सजिलै बनाउन सकिन्छ,’ आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले भने ।

उनले पूरक बजेट सदनबाट पास गर्नुपर्ने भएका कारण गठबन्धन दलमा सहमति हुन जरुरी रहेको औंल्याए । प्रतिपक्षी दल नेकपा एमालेले सदनबाट पास भइसकेको बजेट कटौती गरेर पूरक बजेट ल्याउँदा गलत नजिर बस्ने भन्दै सरकारले चाल्न लागेको कदमको विरोध गरिरहेको छ । सरकारले भने पूरक बजेट ल्याउने तयारी स्वरूप न्यूनतम साझा कार्यक्रम तय गरिसकेको छ । सरकारले कार्यदल गठन गरेर सरकारका ७ वटा प्राथमिकताको सूचीसहित ६ वटा शीर्षकमा नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ । कान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*