कांग्रेसको बैंक खातामा १२ करोड रुपैयाँ
नेपाली कांग्रेसको विभिन्न वाणिज्य बैंकमा १२ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । १ वर्षे मुद्दती निक्षेपमा १० करोड र बचतरचल्ती खातामा २ करोड जम्मा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । २०७२/०७३ यता ४ करोड ९२ लाख ८७ हजार ३३९ रुपैयाँ वृद्धि भएको हो ।
१४औं महाधिवेशनमा पेश भएको प्रतिवेदनअनुसार कांग्रेसको सबै खर्च कटाएर कम्तीमा ८ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ बचतमा छ । गत आर्थिक वर्षसम्म ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेकोमा ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेको जनाएको छ । २०७६र०७७ मा चुनावका लागि र गत आर्थिक वर्ष कोभिड महामारी नियन्त्रणका लागि चन्दा तथा सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा खुद स्थिर सम्पत्ति ५ करोड ५४ लाख ४३ हजार ४१० रुपैयाँ बराबर पुगेको देखिन्छ । २०७२र७३ मा सम्पत्ति ६ करोड ६० लाख ६९ हजार ७२८ रुपैयाँ थियो । खर्चलगायत दायित्व पूरा गरिसकेपछिको यस्तो सम्पत्ति भने १ करोड ६ लाख २६ हजार ३१८ रुपैयाँले घटेको देखिन्छ । कांग्रेससँग नगद र नगदमा परिणत हुने खुद चालू सम्पत्ति ११ करोड ४८ लाख ७४ हजार ६७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
खुद स्थिर र चालू गरी कांग्रेससँग जम्मा सम्पत्ति १७ करोड ३ लाख १८ हजार १७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । नवीकरण दस्तुरबापत ४ करोड ४० लाख, कुपन तथा प्रकाशन बिक्रीबापत ४ लाख ५० हजार, अन्य आय १४ लाख ५० हजार गरी ४ करोड ५९ लाख रुपैयाँ आय रहेको प्रतिवेदनमा समावेश छ । आयबाट कर्मचारी र प्रशासनिकतर्फ २ करोड ४८ लाख रुपैयाँ खर्च भएको कांग्रेसले जनाएको छ ।
खर्च कटाएर २ करोड ११ लाख रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको हलमा राति करिब ९ बजे सुरु भएको छ । बन्दसत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेस भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बन्दसत्रमा १४औं महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, बाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत प्रतिवेदन पेस गरिएको छ ।
पेस गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिने छ । नेतृत्व चयन गर्ने कांग्रेसको यो महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरू चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिले शुक्रबार नै प्रकाशन गरेको छ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ सोही दिन साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । अन्नपूर्णमा खबर छ ।