निर्वाचित जनप्रतिनिधिहरूको सहभागितामा भ्रष्टाचार न्यूनिकरण र सुशासन विषयक अन्तरक्रिया
हेटौंडा । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवस (डिसेम्बर,२०२१) को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहल हेटौंडामा निर्वाचित जन प्रतिनिधिहरूको सहभागितामा भ्रष्टाचार न्यूनिकरण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलालको प्रमुख आथित्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत लगायत मकवानपुर जिल्ला भित्रका नगरपालिकाका प्रमुख र उप प्रमुख, गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षहरू, हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षहरु, सिटिजन जुरी मकवानपुरका प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, कर्मचारी र पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमाहानगरपालिकाका मेयर हरि बहादुर महतले भ्रष्टाचार न्युनीकरण गर्दै लोकतन्त्रको सघनीकरणको लागि सबै पक्षले सार्थक पहल गर्नु पर्ने त्यसको नेतृत्व राजनीतिक नेतृत्वले नै लिनुपर्ने बताउँदै सदाचारीता अभिवृद्धिको लागी आफूनै उदाहरणीय बन्न सकेमा मात्रै भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउने विचार व्यक्त गर्नुभयो । भष्टचार बिरुद्ध छानबिन गर्दा आफुबाटनै सुरु गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख अर्जुन कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार एवम् सुशासन कायम गर्ने तर्फ भएका प्रगति स्थितिबारे जानकारी गराउनुभएको थियो ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउनु हुँदै उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गर्नु भएको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्रसाद सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रधुनाथ खुलालले यस्ता अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधिहरूको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा मन्तव्य राख्नु हुँदै इन्द्रसरोबर गाँउपालिकाका अध्यक्ष जीवन लामाले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका सिनियर डिभिजन इन्जिनियर मोहदत्त भट्टले भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको सार्थकता र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । अन्तरक्रियाका कार्यक्रमको खुल्ला सत्रमा उठेका प्रश्नको जबाफ दिँदै कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका यस कार्यालयका कार्यालय प्रमुख श्री अर्जुन कुमार शर्माले कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रममा जिसस उपप्रमुख भगतवी पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामासहित मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउँने गरिन्छ ।






