मकवानपुरका झण्डै ६ हजार भूकम्प पीडितले पाएनन् दोस्रो र तेस्रो किस्ताको अनुदान रकम

जनपत्र
२३ मंसिर २०७८, बिहीबार १२:५६

मकवानपुर – मकवानपुरमा भूकम्पमा घर क्षति भएका झण्डै ६ हजार जना भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

भूकम्पपछि आफ्नो घर निर्माण गरे पनि सरकारले दिने भनेको अनुदान रकम पाउन नसक्दा समस्या भएको भूकम्प पीडितको गुनासो छ ।

मकवानपुरका दश वटै पालिकामा गरी झण्डै ६ हजारले अनुदानको रकम पाउन नसकेका हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म भूकम्प पीडितलाई रकम निकासा नहुँदा समस्या भएको हो । भूकम्प पीडितले ऋण गरेर घर निर्माण गरेको तर दोस्रो र तेस्रो किस्ताको रकम प्राप्त गर्न नसक्दा समस्या भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, भवन तथा आवास कार्यालय मकवानपुरले भूकम्प पीडितका लागि दोस्रो र तेस्रो किस्ताको रकम वितरण गर्नका लागि ४० करोड रुपैयाँ सङ्घीय सरकारसँग माग गरेर पठाएको जनाएको छ । तर, त्यो रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्प पीडितलाई दिन समस्या भएको जिल्ला आयोजना कार्यान्वयन इकाइको भनाइ छ । सरकारले छिटो रकम निकासा गर्नुपर्ने अध्यक्ष लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*