हेटौंडाको चौकिटोलमा भाटभटेनी सुपरस्टोर सुभारम्भ, हेर्न आउनेहरुको भीड
हेटौंडा – भाटभटेनी सुपर मार्केटले बागमती प्रदेशको राजधानी हेटौंडामा आफ्नो २० औं शाखा बुधबारदेखि संचालनमा ल्याएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २, चौकीटोलमा भाटभटेनी सुपर मार्केट संचालनमा ल्याएको हो ।
एक औपचारिक कार्यक्रमका माझ भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध मीन बहादुर गुरुङले शुभारम्भ गरेका हुन् । शुभारम्भ पश्चात गुरुङले कम्पनीको शाखा देशको मुख्यमुख्य शहरमा संचालन गर्ने योजना अनुसार हेटौंडा पनि संचालनमा ल्याईएको बताए । स्वदेशमै अन्तराष्ट्रियस्तरको गुणस्तरीय, सस्तो, उपभोक्ता नठगिउन, रोजगारी तथा उपभोक्तालाई भरपर्दो सेवा पुर्याउने उदेश्यले यस ब्यवसायलाई देशभरी संचालन ल्याईएको गुरुङले जानकारी दिए ।
सुपर मार्केटको सेवासँगै आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटनमा पनि टेवा पुग्ने गुरुङले बताए । उनले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने, धेरै भन्दा धेरैलाई रोजगार प्रदान गर्ने र आयबाट पनि समाजमा सेवा गर्ने हाम्रो अभियान रहेको समेत बताए । भाटभटेनीलाई सातै प्रदेशका मुख्य शहरमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाई छ ।
शाखा शुभारम्भको अवसर पारेर भाटभटेनीले इलोक्ट्रीन सामाग्रीमा २० प्रतिशत र अन्य लत्ताकपडा लगायत सम्पुर्ण सामाग्रीमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको भाटभटेनीका क्षेत्रिय प्रवन्धक विनोद भट्टराईले बताए । इलोक्ट्रोनिक सामाग्री खरिद गर्ने सेवाग्राहीहरुको लागि निःशुल्क घरदैलो सेवा समेत उपलब्ध रहेको बताए । भौगोलिक क्षेत्रको आधारमा घरदैलो सेवा भाटभटेनी संचालनमा रहेको स्थानबाट करिब २५ किलोमिटर क्षेत्रभित्रका सेवाग्राहीहरुको लागि मात्र उपलब्ध रहेको बताए ।
शुभारम्भमा मकवानपुका करिब ६५ हजार घरघुरीका सेवाग्राहीलाई निमन्त्रण गरेको भट्टराईले बताए । छुटको ब्यवस्था २५ गतेसम्म लागुहुने भएकोले छुटअवधिभर दैनिक १५ हजार भन्दाबढी सेवाग्राहीहरु भाटभटेनीमा उपस्थित जनाउने भट्टराईको भनाई छ ।
स्टोर परिसरको जमिन र निर्माणका लागि एक अर्ब ५० करोडको लगानी भएको छ। भाटभटेनी १४ कट्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनको निर्माण गरिएको छ । भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ। सेवाग्राहीहरुको लागि पार्किङको व्यवस्था रहेको छ ।
भाटभटेनीमा भान्छामा प्रयोग हुने इलोक्ट्रोनिक, खाद्यान्य, तरकारी तथा फलफुल, बालबालिकाका खेलौना, शृङ्गारका सामग्री, महिला र पुरुषका विभिन्न ब्राण्डका गुणस्तरीय लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स सामग्री लगायत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको छ ।
त्यस्तै भाटभटेनीमा विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने फुड चेन ब्रान्ड केएफसी समेत संचालनमा आएको छ । यसैगरी पेपे पिजाले पनि सेवा शुभारम्भ गरेको छ ।
त्यसैगरी भाटभटेनीले आफ्नो सेवा संचालनमा रहेको स्थान वरपर मुख्य सडक स्तरोन्नती र वृक्षारोपण गरेको छ । भाटभटेनी क्षेत्रमा सडक चौडा र नाला व्यवस्थित तथा आकषर्ण बनाउनका लागि स्थानीय तहको समन्वयमा आफ्नै करिब ८० लाखको स्तरोन्नती गरेको व्यवस्थापक भट्टराईले बताए । जसमा २५० जनाले रोजगारी पाएका छन् । यहाँ २५० जनालाई रोजगारी दिएको उनले बताए ।
भाटभटेनीको सबैभन्दा बढी काठमाडौंमा ९ वटा शाखा रहेका छन् । ललितपुरमा दुई वटा, भक्तपुर, धरान, विराटनगर, भरतपुर, पोखरा, बुटवल, भैरहवा,नेपालगञ्ज,इटहरीमा एकएक वटा शाखा संचालनमा रहेको छ । काठमाडौंमा २ र धनगढीमा १ वटा थप भाटभटेनी संचालनमा ल्याउने तयारी रहेको संचालक गुरुङले जानकारी दिए ।