सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध गर्दैन : अर्थमन्त्री शर्मा
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारीसाधनकाे आयातमा प्रतिबन्ध लगाउन नसकिने बताउनुभएको छ । अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल (नाडा) को ४५ औँ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो कि भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताउनुभयो ।
अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने बताउनुभयो । आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारीसाधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो । अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यूनतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धतासमेत जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध गर्दैन । व्यवसायी यो विषयमा चिन्तित बन्नुपर्दैन । सरकारले प्रतिबन्ध होइन, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने काम गर्नेछ । अहिले आयातमा प्रतिबन्ध लगाउन सकिन्न, विभिन्न ऐन र कानुनले पनि दिँदैन तर स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाएर आयात कम गराउन सकिन्छ । सरकारले नेपालमा सवारी उत्पादन गर्ने व्यवसायीका लागि सबै सुविधा तथा छुट दिन तयार रहेको छ। विद्युत् र श्रम शक्ति अहिले नेपालको सबैभन्दा बलियो स्रोत हो । विद्युत् र श्रम शक्तिलाई नाडाले उपभोग गर्नुपर्छ । सरकार नीतिगत अस्थिरता हटाउन तयार छ, त्यसका लागि अटो व्यवसायी तयारी हुनुपर्छ । विद्युतीय चार्जिङ स्टेशन बनाउन सरकारले जोड दिइरहेको छ । अब सबै पेट्रोल पम्पलाई विद्युतीय चार्जिङ स्टेशनमा बदल्नुपर्छ । त्यसको सहज प्रविधि पनि विकसित भइसकेको छ ।’
अर्थमन्त्री शर्माले आफू मैले अर्थशास्त्र जानेको मान्छे नभए पनि देशलाई आत्मनिर्भर बनाउनका लागि कुन बाटो लानुपर्छ भन्ने थाहा भएको बताउनुभयो । देश सम्पन्न र आत्मनिर्भर नभइ नागरिकले सेवा, सुविधा नपाउने मन्त्री शर्माले जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजस्व तिर्न एसाेसिएशनमध्ये नाडा पहिलो नम्बरमा आउने बताउनुभयो । उपाध्यक्ष ढकालले सरकारले अर्थतन्त्रलाई बलियो बनाउनका लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारले अर्थतन्त्र गतिशील बनाउनका लागि परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्न सक्नुपर्छ । परिर्वतन गरेमात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । यसरी परम्परागत नीतिगत व्यवस्था परिर्वतन गर्दा केहीले विमति हुन्छ । सरकारले नीतिगत छलफल गर्दा सरोकारवाला निकायसँग छलफल गर्नुपर्छ ।’
नाडा अटोमोबाइल्स एसाेसिएशन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा आज र भोलि दुई दिनसम्म हुनेछ । सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।