प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षको जेल सजाय

जनपत्र
२० मंसिर २०७८, सोमबार १३:४७

काठमाण्डाै – म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सोमवार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उहाँमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लागेको छ ।

तर, सुकीले यो आरोपको खण्डन गर्दै आउनु भएको छ । यदि सुकीमाथि लागेका सबै आरोपमा अदालतले दोषी ठहर्याए उहाँलाई आजीवन कारावासको सजाय हुन सक्ने बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ तारिखमा सत्ता हातमा लिँदै सुकीलाई सेनाले नजरबन्दमा राखेको थियो । त्यसयता म्यानमारमा सैन्य ‘कु’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सेनाले बल प्रयोग गर्दै आएको छ ।

विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*