कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

जनपत्र
२० मंसिर २०७८, सोमबार १२:२३

मकवानपुर – नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा हेटौँडाका इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ ।

हिजाे भएकाे पुन: निर्वाचनमार्फत बानियाँ अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै वाग्मती प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो ।

संस्थापन पक्षका बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गर्नुभएकाे थियाे ।

प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिनु भएकाे थियाे । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुनुहुन्छ ।

बानियाँले १ हजार ८५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९ सय २७ मत मात्र प्राप्त गर्नु भएको छ । १३ मत भने बदर भएको छ । बानियाँ कांग्रेस संस्थापन पक्ष शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौला पक्षका साझा उमेदवार हुनुहुन्छ भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुनुहुन्छ । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको जनाइएको छ ।

कांग्रेसको वाग्मती प्रदेश अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान भएको हो । आज कृष्ण सिटौला पक्षले पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेकाे जनाएकाे हाे ।

यसअघि शनिवार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत पाउनु भएकाे थियाे। प्रधानले बानियाँलाई समर्थन गरेसँगै विजयी हुनका लागि सहज भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*