भारतको नागाल्याण्डमा सैन्य आक्रमणपछि स्थानीयले सेनाको गाडी नै जलाइदिए
भारतको नागाल्याण्डस्थित एक गाउँमा सैनिक आक्रमणबाट दर्जनौं स्थानीयबासिन्दा मारिएपछि आक्रोशित बनेका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका छन् ।
म्यानमारको सीमाक्षेत्रमा पर्ने मोन जिल्लाको एक दुर्गम ओटिङ गाउँस्थित शनिबार राति आतंकवादीको आरोपमा सेनाले आक्रमण गर्दा १३ जना मारिएका थिए । त्यसको प्रतिवादमा उत्रिएका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका थिए । सेनाले विश्वसनीय सूचनाका आधारमा विद्रोहीहरूलाई लक्षित गर्दै गरिएको विशेष अपरेसनमा उनीहरू मारिएको जनाएको छ । आइतबार सेनाले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
प्रहरीले भने यस घटनाबारे उच्चस्तरीय छानबिन गरिने जनाएको छ । साथै मृतकहरूप्रति गहिरो दुख व्यक्त गरेको छ । यस्तै दोषीमाथि कानुन बमोजिम कारबाही हुने पनि प्रहरीले जनाएको छ । नागाल्याण्ड प्रहरी अधिकृत सन्दीप एम तांगादेका अनुसार अहिले सिंगो मोन जिल्लाको अवस्था तनाबग्रस्त बनेको छ । यस्तै १३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
घटनापछि नागाल्याण्डका मुख्यमन्त्री नेइफियु रियोले उक्त घटनाको छानबिन गर्ने र दोषीमाथि कारबाही गरिने रोयटर्सलाई जनाएका छन् । साथै यस घटनामा सेनाको गुप्तचर विफल बनेको पनि मुख्यमन्त्री रियोले टिप्पणी गरेका छन् । ुओटिङमा सर्वसाधारणको ज्यान लिने गरी भएको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ,ु मुख्यमन्त्री रियोले भनेका छन् । उक्त घटना ओटिङ गाउँमा भएको थियो ।
स्थानीय मिडियाका अनुसार आसाम राइफल्स अन्तर्गतको सैन्य टोलीले मोन जिल्लाको ओटिङ गाउँमा यस्तो घटना गरेको थियो । समाचार अनुसार सुरुमा कोइलाखानीका कामदारहरू बोकेको ट्रक सैन्य क्षेत्र हुँदै थिए । त्यसलाई सेनाले विद्रोहीहरूको गतिविधि ठानेर गोली प्रहार गर्न थालेको बताइएको छ । त्यस क्रममा ६ जना मारिएका थिए ।
उक्त आक्रमणपछि सयौं आदिवासी गाउँलेहरूले सेनाविरुद्ध प्रदर्शन गर्न थालेका थिए । यस क्रममा आसाम राइफल्सको गाडीसमेत जलाइदिएका थिए । यस क्रममा लामो समयसम्म सेना र स्थानीयको भीडन्त भएको थियो ।
भीडन्तमा अरु ८ स्थानीयवासी र एक सुरक्षाकर्मीको समेत मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । नागाल्याण्डमा यसअघि पनिस्थानीय र सुरक्षाकर्मीबीच यस्ता भीडन्त हुने गरेका छन् । नागाल्याण्डका स्थानीयहरूले भने बारम्बार सेनाले विद्रोही समूहको नाममा निर्दोष आदिवासीहरूलाई गलत तरिकाले निशाना बनाएको आरोप लगाउने गरेका छन्।