हेटौंडामा जारी अन्तरपालिका फुटबलः बकैयाले कैलाशलाई हरायो
हेटौंडा । हेटौंडा-४ को हुप्रचौरमा जारी जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगितामा बकैयाले कैलाश गाउँपालिकालाई पराजित गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भईरहेको नकआउट फुटबल प्रतियोगितामा बकैयाले कैलाशलाई २-० गोलअन्तरले पराजित गरेको हो ।
बकैयाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित ८० मिनेटको खेलमा ७४ औं मिनेटमा बकैयाका नवराज घलानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको अतिरिक्त समयमा बकैयाका अभिषेक भ्लोनले गोल गरेपछि बकैया विजयी भएको हो । खेलको म्यान अफ दि म्याच भने पहिलो गोलकर्ता घलान घोषित भए ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।