५ वर्षभित्रमा २ हजार मेगावाट बिजुली खपत हुने गरी पूर्वाधार बनाउँदै प्राधिकरण

जनपत्र
१९ मंसिर २०७८, आईतवार १४:३६

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली देशभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्रमा दुई हजार मेगावाट बिजुली खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा अहिले सञ्चालमा रहेका तथा आउँदा दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले व्यापक रूपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

प्राधिकरणले मुख्य रूपमा उद्योगहरूलाई मागेजति भरपर्दो र गुणस्तरीय बिजुलि दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै चार सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ ।

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकाले उद्योगहरूलाई थप विद्युत् आपूर्ति दिन सकिने छ ।

निर्माणाधीन हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेशन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब–स्टेशन बनाउन लागिएको छ ।

प्राधिकरणले बिजुली खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई तत्काल दुई सय मेगावाट बिजुली उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगहरूले क्षमता विस्तारका लागि थप बिजुलीकाे माग गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजाे शनिवार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी बिजुली मागको अहिलेकाे अवस्था र भविष्यकाे आवश्यकताका विषयमा जानकारी लिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*