पराजित भए पनि रेखा थापा खुशी
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीमा उम्मेदवार बन्नुभएकी रेखा थापाले पराजय भए पनि खुशी व्यक्त गर्नुभएको छ ।
‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरुको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु’ उज्यालोसँगको कुराकानीमा थापाले भन्नुभयो ।
थापाले १ हजार ६ सय ४० मत ल्याउँदा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीले २ हजार ८ मत ल्याएर विजयी हुनुभएको हो । ‘उहाँ राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ, तै पनि मलाई धेरै साथीहरुले मत दिनुभयो, म यसमै प्रसन्न छु’ थापाले भन्नुभयो ।
अर्को पटक बाँकी प्रतिनिधिको मन जितेर नेतृत्वमा आउने पनि उहाँले दाबी गर्नुभयो । ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फबाट बधाई भन्न चाहन्छु,’ थापाले भन्नुभयो ।
आफूलाई केहीले गणतन्त्रवादी भनेर प्रचार गरेका कारण पनि पराजित हुनु परेको उहाँको टिप्पणी छ । ‘मैले आफूलाई नेपालवादी भनेर मत मागेको थिएँ, तर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गरे, यसले पनि मेरो मत केही कम आयो’ थापाले भन्नुभयो ।
रेखा थापाले राजेन्द्र लिङ्देन समूहबाट महिला महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । आफू पराजित भए पनि लिङ्देन अध्यक्षमा विजयी भएको भन्दै थापाले सन्तुष्टि जनाउनुभएको छ ।