टिमहरु यू-१९, धेरै खेलाडी ओभर-१९, दोशी काे ?

जनपत्र
१९ मंसिर २०७८, आईतवार ०६:५९

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको यू १९ क्रिकेट प्रतियोगिताको आइतबार फाइनल खेल हुँदैछ । लामो समयपछि भएको प्रतियोगितामा यसपटक सात प्रदेशको सहभागिता रहेको थियो । तर प्रतियोगिताको आयोजना राम्रो भएपनि सहभागि खेलाडीको उमेरमा भने प्रश्न उठाउने धेरै ठाँउहरु भेटिएका छन ।
लामो समयदेखि प्रतियोगिता नहुँदा सातै प्रदेशले आफ्नो टिम बलियो बनाउनका लागि छनोट चरणमा नै खेलाडीको उमेर खाँसै ध्यान नदिइएको देखिएको छ । केहि दिन अगाडी कान्तिपुर पत्रिकाले यू १९ क्रिकेटका दाई र अंकल नामको एक समाचारले ठूलो तहल्का पिट्यो । सन् २०१४ मा नै यू १९ खेलिसकेका खेलाडी अंकित सुवेदी अहिलेको यू १९ राष्ट्रिय प्रतियोगितामा देखिँदा प्रतियोगितामा धेरै प्रश्नहरु उठेका छन ।

क्यानका एक प्राविधिकका अनुसार अहिले भएको यू १९ क्रिकेट प्रतियोगितामा खेलाडीको उमेरमा धेरै डाउट गर्ने ठाँउ भएको बताए । यदि सबै खेलाडीको उमेर क्रस चेक गर्ने हो भने गण्डकी र बागमती प्रदेशका केहि खेलाडीको मात्र मिल्न सक्ने र बाँकी प्रदेशका धेरै जसो खेलाडीको उमेर क्रस भएको पाउने पक्का भएको देखाए ।

उनले यस्तो भन्नुको कारण जुन किसिमको प्रदर्शन खेलाडीले गरेका छन, त्यो साच्चिकै यू १९ मा रहेका खेलाडीले खेल्न कठिन हुने बताए । १९ बर्ष मुनिका खेलाडी दिमागी रुपमापनि केहि कच्चा हुने गरेको र क्रिजमा संयमित भएर परिपक्क खेलाडीको जस्तो खेल्न नसक्ने बताए । उनले यसमा सोनु अन्सारी, आदिल अन्सारी लगायत केहि खेलाडीको नाम समेत उल्लेख गरेका थिए । जुन किसिमको प्रदर्शन उनीहरुले गरे त्यो १९ बर्ष मुनिका खेलाडीले गर्न निकै कठिन हुने उनको भनाई छ । सोनु अन्सारीले यो प्रतियोगितामा शतक प्रहार गरेका थिए । आदिलले ४३ बलमा ८७ रनको पारी खेलेका थिए । जसका उनको टिमले दुई सय ९१ रनको लक्ष्य चेज गरेको थियो ।

आखिर किन बढि उमेरका खेलाडी ?

ती प्राविधिकका अनुसार लामो समय यू १९ क्रिकेट नहुँदा सबै जिल्ला र प्रदेशलाई बलियो टिम बनाउने ध्यानमात्र रह्यो । जसका कारण उनीहरुले खेलाडीको नागरिकता र एसएलसीको सर्टिफिकेट क्रसचेक गर्नुपर्ने थियो, त्यो नगरेको र कसैको पासपोर्ट त कसैको नागरिकता हेरेको उनको भनाई छ । यदि जिल्लाबाट नै यो प्रतियोगिताको छनोट खेल्ने खेलाडीको एसएलसीको प्रमाणपत्र र नागरिकता क्रस चेक गरेको भए अहिले यो अवस्था नआउने उनले बताए ।

यसमा जिल्लाले गल्ति गरेपनि प्रदेशले राम्रोसँग केलाउनुपर्नेमा उल्टो प्रदेशका टिम आफ्नो टिम बलियो होस भन्ने चाहना राखेर पनि गल्ति भएको उनको भनाई छ । यसका साथै यसरी उमेर कटेका खेलाडी राखेर प्रतियोगिता गर्दा साच्चिकै १९ बर्ष मुनिका खेलाडीलाई ठूलो मार पर्ने बताए । उनले गण्डकी प्रदेशका अधिकांश खेलाडीको उमेर १९ बर्ष मुनिको भएको हुनसक्ने र बागमतीको टिममा पनि धेरै जसो खेलाडीको उमेर उचित भएको दावी नै गरे ।

उपचार के त ?

नेपाल क्रिकेट संघले यसरी बढि उमेरका खेलाडीलाई टिममा राखेर ल्याउने सबै टिमलाई उनीहरुको नागरिकता र एसएलसीको प्रमाणपत्र बुझाउन भनेको खण्डमा त्यसबाट पनि सबै कुरा प्रष्ट हुने देखिएको छ । किनकी कुनैपनि खेलाडीले नागरिकतामा जन्ममिती तलमाथि गरेपनि एसएलसीको सर्टिफिकेटसँग त्यो मिल्नुपर्ने हुन्छ । किनकी एसएलसीको सर्टिफिकेटमा जन्ममिती फरक पार्न कठिन हुन्छ ।

स्रोतका अनुसार क्यानले यू १९ क्रिकेट प्रतियोगितामा सहभागि भएका सबै टिमका खेलाडीको नागरिकता र सर्टिफिकेट बुझाउनका लागि निर्देशन दिइसकेको बताएका छन । यदि कुनै गल्ति भएको खण्डमा त्यो प्रदेशलाई कारवाही हुने संभावना रहेको छ । यतिमात्र होइन, खेलाडीलाई पनि प्रतिबन्ध लाग्न सक्ने संभावना रहेको स्रोतले बताएको छ ।

यसका लागि क्यानले पनि खरो रुपमा उत्रन जरुरी छ । अहिले प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भनेर दावी गरेपनि क्यानले यसमा भएका सबै गल्तिलाई केलाउन र त्यसमा पाइएका दोशी पक्षलाई कारवाही नगरेको खण्डमा फेरीपनि यस्ता घटना आगामी दिनमा नआउला भन्न सकिन्न । त्यसैले अहिलेको गल्तिबाट सिकेर अर्को प्रतियोगितामा साच्चिँकै सहि उमेर भएका खेलाडीले मात्र खेल्न पाउने बाटो बनाउने जिम्मा क्यानको काँधमा छ । अब त्यसमा उसले कुन प्रक्रियामा अगाडी बढ्ने हो त्यो भने हेर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*