हाई अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि लक्ष्मणलाई

जनपत्र
१८ मंसिर २०७८, शनिबार १५:३०

unn.prixa.net

रसुवा – रसुवामा पहिले पटक सञ्चालन गरिएको ‘हाई अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिताको उपाधि एपीएफका लक्ष्मण मल्लले जितेका छन् । कालिका गाउँपालिका–२ कालिकास्थानदेखि दौड सुरु गरिएको थियो । कालिकास्थानबाट सुरु भइ घुम्ती बजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी, नौकुण्ड गाउँपालिकाको लोकिल, आरूखर्क, घोर्मु, सरस्यु, किमार्जाेङ, खाल्चेत, जिबजिबे हुँदै पुनः कालिका हिमालयन क्याम्पसमा अन्त्य भएको थियो ।

३० दशमलव ६ किलोमिटर दूरीमा सञ्चालन गरिएको प्रतियोगितामा १ घण्टा २९ मिनेट १९ सेकेण्डमा पूरा गर्दै मल्लले उपाधि जितेका हुन् । प्रतियोगितामा एपीएफकै सुरज राना मगर दोस्रो भएका छन् । उनले १ घण्टा २९ मिनेट ४२ सेकेण्डमा पूरा गरेका छन् ।  प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै महिला तर्फ प्युठानकी हुमी बुढा मगरले १ घण्टा ५३ मिनेट १३ सेकेण्डमा दूरी पार गरि प्रथम भएकी छिन् । नुवाकोटकी लक्ष्मी मगरले १ घण्टा ५३ मिनेट १५ सेकेण्डमा पार गरि द्वितीय भएकी छिन । धरानकी ईन्द्रकला नेम्बाङ तृतीय भएकी छिन । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । यस्तै चौथोदेखि दशौं स्थानसम्म आउनेलाई क्रमशः ७ हजार, ६ हजार, ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार ७ सय नगद पुरस्कार प्रदान गरिएको छ ।

यसैगरि मास्टर्स र जुनियरका शीर्ष तीन स्थानमा आउनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खेलकुदको विकास तथा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङलले बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित वाग्मती प्रदेश जिल्ला खेलकुद विकास समिति रसुवा र साइक्लिङ संघले यो प्रतियोगिता आयोजना गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*