हेटौंडाका अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मेयर हरि बहादुर महतले न्यानो कपडा वितरण गर्नुभयो ।
बोल्न सक्ने, हिड्न सक्ने र पहुँच भएकाहरुलाई भन्दा पनि उनीहरुका निम्ति स्थानीय सरकार सहयोगि बन्ने मेयर महतले वताउनुभयो । ३० जना अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर मनाइँएको छ । नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँएको छ । स्कुल पढ्ने अपाङ्गता भएका बिद्यार्थीलाई ध्यानमा राखेर न्यानो कपडा वितरण गरिएको हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो । अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन । उनीहरु कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको जानकारी समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ । महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख छ ।