बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको आग्रहः ‘ओमिक्रोनबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरौं
हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरिएन्टबाट जोगिनका लागि आम नागरिकसंग आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बिज्ञप्ती जारी गर्दै ओमिक्रोन भेरिएन्टबाट जोगिनका लागि स्वास्थ्य मापदड पालना गर्न आग्रह गर्नुभयो ।
हाल सम्म नेपालमा यो रोग नदेखिएको र यसबाट सर्तक रहन भने प्रबक्ता अधिकारीले आग्रह गर्नुभयो । ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।
उहाँका अनुसार अहिलेसम्म यो भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।
नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा मातहतका सबै स्वास्थ्य निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ, प्रवक्ता अधिकारीले वताउनुभएको छ ।
उहाँका अनुसार यो भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्नु भनी घोषणा गरेको छ ।
मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।
मन्त्रालयको यस्तो छ विज्ञप्ती