बागमती काग्रेशमा ९१ पदका लागि आज हेटौंडामा मतदान हुँदै, सबै एकजुट हुँदा इन्द्र बानियालाई धक्का
मकवानपुर । बागमती प्रदेशमा नेपाली काग्रेशको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० फरेष्ठी खेल मैदानमा मतदान हुँदै छ । महाँधिवेशनबाट शेरबहादुर देउवाको प्यानलबाट प्रदेशसभापति पदमा उमेदवारी दिएका इन्द्रबहादुर बानियाँलाई संस्थापन इतर समुहले धक्का दिएका छन् ।
पहिले देउवा समुह र कृष्ण प्रसाद सिटौला समुह मिलेर चुनाब लड्ने भनिएपनि पछी संस्थापन र त्यसबाहेकका समुह मिलेर चुनाब लड्ने भएपछी प्रदेश काग्रेश संसदीय दलका नेता समेत रहनु भएका हेटौंडाका इन्द्रबहादुर बानियाँलाई धक्का दिएका छन् । पहिले चुनाबमा सहज मानिए पनि अब भने बाँनियालाई सहन नभएको देउवा निकट नेताहरुनै वताउँछन् ।
हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ९१ पदका लागि चुनाब हुँदै छ । सबैपदमा गरेर २ सय ५७ जनाको उमेदवारी परेको छ । प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ ।
सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरिसंह केसी, कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका छन् । संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिएका छन् ।
संस्थापन इतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उमेदवार दिएका छन् ।
प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन् । सदस्यतर्फ खुल्लामा ८५ जना, समावेशीतर्फ १४८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत अधिकारीका अनुसार बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म मतदान प्रक्रिया हुने छ । अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन् । अधिवेशनबाट दुइ उपसभापति, दुइ महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडादेखि प्रदेशसम्मको नयाँ नेतृत्व चयनका लागि विभिन्न जिल्ला र प्रदेशमा चुनाव भइरहेका छन् ।कांग्रेसभित्र हाल दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका समूह सक्रिय देखिएका छन् । यसवाहेक पनि संस्थापन इतर समूहका नेताहरू पनि आआफ्नै समूह बनाएर अधिवेशनमा उम्मेदवारलाई अघि सारेका छन् ।
हेटौंडा अधिवेशनमा भने सभापति देउवा पक्षविरुद्ध संस्थापन इतर नेताहरू एकजुट भएर अभियान सञ्चालन गरिरहेका छन् । विशेषगरी पार्टी सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका संस्थापन इतरका नेता प्रकाशमान सिंह र गगन थापाले संस्थापनविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरिरहेका छन् । उनीहरूले प्रदेश तहबाटै देउवाविरुद्ध अभियान सञ्चालन गरेर अगाडि बढ्न जरुरी रहेको आफ्ना कार्यकर्तालाई भनिरहेका छन् ।
‘प्रकाशमान र गगन थापाको महाधिवेशन हुने उम्मेदवरी वाग्मती प्रदेशको नतीजामा भर पर्छ,’ यस समूहका एक नेताले भने । उनीहरूको समूहमा रहेका जगदिशनरसिंह केसीलाई प्रदेश सभापतिमा जिताउन उनीहरू हाल हेटौंडामा कम्मर कसेर लागि परेका छन् । उनीहरूले संस्थापनविरुद्ध प्रचारप्रसारका विभिन्न अभियानसमेत सञ्चालन गरिरहेका छन् ।कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीभित्र अन्याय भइरहेको भन्दै न्याय दिनको लागि कांग्रेसमा राम्रो नेतृत्व आउन आवश्यक रहेको बताएका छन् ।
उनले वर्तमान नेतृत्वले पार्टीलाई न्याय दिन नसकिरहेको भन्दै राष्ट्रिय राजनीतिमा दीर्घकालीन असर पार्ने भएका कारण वाग्मती प्रदेशमा सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याए । हेटौंडा आएका संस्थापन इतरका नेताहरूले प्रदेश सभापतिमा संस्थापन पक्षबाट उम्मेदवारी दिएका विरुद्ध पौडेल पक्षका नेताहरू एउटै मञ्चमा उभिएर मत मागेका छन् । कांग्रेसको नेता रामशरण महतले आन्तरिक गुटले गर्दा पार्टीलाई कमजोर बनाएको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने औंल्याए ।
‘हालको नेतृत्वको कारण कांग्रेस कमजोर भएको छ । त्यसकारण सक्षम नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता हो’, उनले भने । कांग्रेस अर्जुननरसिंह केसीले कांग्रेसको अहिलेको नेतृत्वले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरे । केसीले पार्टी विधि प्रधान हुनुपर्नेमा व्यक्ति प्रधान बनेको भन्दै देउवाको कटाक्ष गरे ।
‘पार्टीभित्र व्यक्ति हावी भइरहेको छ । हामीले महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित गर्नुको विकल्प छैन,’ उनले भने । कांग्रेस नेता गगन थापाले पार्टी अहिले गलत बाटो गएका कारण देशमा बेथिति बढेको आरोप लगाए । ‘वाग्मतीको नतीजाले महाधिवेशनबाट आउने नयाँ नेतृत्वको निर्धारण गर्छ । हामीले आफ्नो पार्टीभित्र कमजोरीलाई सच्याएर एक ढीक्का बनेर अन्य दलहरूसँग लड्नुपर्नेछ । त्यसकारण हामीले सही र सक्षम नेतृत्व चयन गर्नुपर्छ,’ थापाले भने । कांग्रेस वाग्मती प्रदेश सभापतिमा पौडल समूहबाट केसी, देउवा समूहबाट इन्द्रबहादुर बानियाँ र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका छन् ।