हेटौंडामा देउवाविरुद्ध संगठित हुँदै इतर समूह

जनपत्र
१७ मंसिर २०७८, शुक्रबार २०:१९

मकवानपुर — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडादेखि प्रदेशसम्मको नयाँ नेतृत्व चयनका लागि विभिन्न जिल्ला र प्रदेशमा चुनाव भइरहेका छन् ।कांग्रेसभित्र हाल दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका समूह सक्रिय देखिएका छन् । यसवाहेक पनि संस्थापन इतर समूहका नेताहरू पनि आआफ्नै समूह बनाएर अधिवेशनमा उम्मेदवारलाई अघि सारेका छन् ।

हेटौंडा अधिवेशनमा भने सभापति देउवा पक्षविरुद्ध संस्थापन इतर नेताहरू एकजुट भएर अभियान सञ्चालन गरिरहेका छन् । विशेषगरी पार्टी सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका संस्थापन इतरका नेता प्रकाशमान सिंह र गगन थापाले संस्थापनविरुद्ध मोर्चाबन्दीको नेतृत्व गरिरहेका छन् । उनीहरूले प्रदेश तहबाटै देउवाविरुद्ध अभियान सञ्चालन गरेर अगाडि बढ्न जरुरी रहेको आफ्ना कार्यकर्तालाई भनिरहेका छन् ।

‘प्रकाशमान र गगन थापाको महाधिवेशन हुने उम्मेदवरी वाग्मती प्रदेशको नतीजामा भर पर्छ,’ यस समूहका एक नेताले भने । उनीहरूको समूहमा रहेका जगदिशनरसिंह केसीलाई प्रदेश सभापतिमा जिताउन उनीहरू हाल हेटौंडामा कम्मर कसेर लागि परेका छन् । उनीहरूले संस्थापनविरुद्ध प्रचारप्रसारका विभिन्न अभियानसमेत सञ्चालन गरिरहेका छन् ।कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीभित्र अन्याय भइरहेको भन्दै न्याय दिनको लागि कांग्रेसमा राम्रो नेतृत्व आउन आवश्यक रहेको बताएका छन् ।

उनले वर्तमान नेतृत्वले पार्टीलाई न्याय दिन नसकिरहेको भन्दै राष्ट्रिय राजनीतिमा दीर्घकालीन असर पार्ने भएका कारण वाग्मती प्रदेशमा सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याए । हेटौंडा आएका संस्थापन इतरका नेताहरूले प्रदेश सभापतिमा संस्थापन पक्षबाट उम्मेदवारी दिएका विरुद्ध पौडेल पक्षका नेताहरू एउटै मञ्चमा उभिएर मत मागेका छन् । कांग्रेसको नेता रामशरण महतले आन्तरिक गुटले गर्दा पार्टीलाई कमजोर बनाएको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने औंल्याए ।

‘हालको नेतृत्वको कारण कांग्रेस कमजोर भएको छ । त्यसकारण सक्षम नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता हो’, उनले भने । कांग्रेस अर्जुननरसिंह केसीले कांग्रेसको अहिलेको नेतृत्वले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन नसक्ने टिप्पणी गरे । केसीले पार्टी विधि प्रधान हुनुपर्नेमा व्यक्ति प्रधान बनेको भन्दै देउवाको कटाक्ष गरे ।

‘पार्टीभित्र व्यक्ति हावी भइरहेको छ । हामीले महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित गर्नुको विकल्प छैन,’ उनले भने । कांग्रेस नेता गगन थापाले पार्टी अहिले गलत बाटो गएका कारण देशमा बेथिति बढेको आरोप लगाए । ‘वाग्मतीको नतीजाले महाधिवेशनबाट आउने नयाँ नेतृत्वको निर्धारण गर्छ । हामीले आफ्नो पार्टीभित्र कमजोरीलाई सच्याएर एक ढीक्का बनेर अन्य दलहरूसँग लड्नुपर्नेछ । त्यसकारण हामीले सही र सक्षम नेतृत्व चयन गर्नुपर्छ,’ थापाले भने । कांग्रेस वाग्मती प्रदेश सभापतिमा पौडल समूहबाट केसी, देउवा समूहबाट इन्द्रबहादुर बानियाँ र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका छन् । इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*