नेपालमै पहिलो पटक विकास गरिएको हाइब्रिड धानको उत्पादन गोरखामा राम्रो

जनपत्र
१६ मंसिर २०७८, बिहीबार १३:५५

गोरखा – नेपालमै पहिलो पटक विकास गरिएको हाइब्रिड धानको उत्पादन गोरखामा औसतभन्दा राम्रो रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले देशमै पहिलो पटक धानको हाइब्रिड जात बनाएको थियो ।

हर्दिनाथ १ र हर्दिनाथ ३ गरी दुई जातको हाइब्रिड धान बनाइएकोमा गोरखामा परीक्षणका लागि हर्दिनाथ १ को खेती गरिएको थियो । धान जोन कार्यक्रम लागू भएको क्षेत्रको तीन ठाउँमा यसको खेती गरिएकोमा उत्पादकत्व औसत अनुमानभन्दा उत्कृष्ट रहेको पाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका कृषि अधिकृत रविन्द्र पौडेलले बताउनुभयो ।

धान जोन अन्तर्गत सिरानचोकको वडा नम्बर ६, पालुङटार नगरपालिकाको वडा नम्बर १ र ९ को झन्डै १५ रोपनी खेतमा हर्दिनाथ १ को परीक्षण खेती गरिएको थियो । गएको असारमा लगाइएको धानको उत्पादकत्व प्रति–हेक्टर सात मेट्रिक टन रहेको पौडेलले जानकारी दिनुभयो । विज्ञहरूले भने नेपाली हावापानीमा यसको उत्पादकत्व प्रति–हेक्टर साढे ६ मेट्रिक टनसम्म हुने अनुमान गरेका थिए । ‘जिल्लामा अहिले लगाउने गरिएको उन्नत धानको उत्पादन प्रति–हेक्टर साढे चार मेट्रिक टनसम्म छ तर हर्दिनाथको उत्पादन त्योभन्दा निकै राम्रो देखियो’, पौडेलले भन्नुभयो, ‘गोरखाको हावापानी राम्रो रहेको पाइएकाले यसको खेती विस्तार गर्दा राम्रो हुने देखिन्छ ।’

भारतीय हाइब्रिड धानमा कालोपोकेको समस्या देखिएकोमा नेपाली हाइब्रिडमा भने त्यो समस्या नदेखिएको पनि पौडेलले जानकारी दिनुभयो । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रको प्राविधिक कमिटीले नयाँ हाइब्रिड जातलाई दुई वर्षअघि नै स्वीकृत गरिसकेको र गोरखाको हावापानी उपयुक्त देखिएकाले आउँदा वर्षमा हर्दिनाथको खेती विस्तार गर्ने योजना रहेको छ ।

अनुसन्धानकर्ताहरूले उन्नत जातको तुलनामा हर्दिनाथ हाइब्रिड धान १ र हर्दिनाथ हाइब्रिड ३ को उत्पादन २० देखि २५ प्रतिशत बढी हुने बताएका छन् । यो धान चैते र बर्खे दुवै सिजनमा लगाउन सकिने पौडेलले जानकारी दिनुभयो ।

गोरखाको धान जोनको थप क्षेत्रमा यसको खेती विस्तार गर्न सके उत्पादकत्व बढाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाले जनाएको छ । गोरखामा २०७६ साउनदेखि धान जोन कार्यक्रम सुरु भएको हो । दरौँदी नदी किनारमा सञ्चालित धान जोन कार्यक्रमले पाँच सय ७५ हेक्टर क्षेत्रफल समेटेको छ जसमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहीद लखन, सिरानचोक र अजिरकोट गाउँपालिकाका गरी १७ वडा समावेश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*