रावल र भुसालका कारण एमालेको लोकतान्त्रिक साख जोगियो
एमालेको दशौं राष्ट्रिय महाधिवेशनले मुख्यतया दुई, तीन वटा सन्देश दिन खोजेको छ । पहिलो कुरो त उद्घाटन सत्रमा व्यापक जनपरिचालन गरेर जुन सभा गरियो त्यसबाट एमालेसँग अहिले पनि व्यापक जनसमर्थन छ भन्ने देखाउन खोजिएको छ । दोस्रो सन्देश भनेको विभाजनका बावजुद एमाले सशक्त छ भन्ने हो ।
तेस्रो सन्देश भनेको निर्वाचन भयो भने निर्वाचनले पार्टीमा विभाजन ल्याउँछ त्यसकारण सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने एउटा भाष्य तयार गर्न खोजिएको थियो त्यो त्यति सफल भएन । आखिर निर्वाचन त भएरै छोड्यो । त्यसैले त्यो गलत भाष्य थियो ।
निर्वाचनले पार्टी विभाजन हुने होइन । पार्टी विभाजन भनेको पार्टी नेतृत्व गर्नेको अक्षमता, अहं वा सिद्धान्त तथा व्यवहारले पार्टीमा विभाजन आउने हो ।
तेस्रो भाष्य भने गलत भयो । महाधिवेशनमा निर्वाचन नभए कहाँ हुन्छ त ? आखिर पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने ठाउँ भनेको त महाधिवेशन नै हो । त्यसकारण महाधिवेशनलाई निर्वाचनविहीन बनाउन खोजेको कुरा भने गलत भयो ।
उद्घाटन सत्रले एमालेमा जुन व्यापक जनसमर्थन छ भन्ने भाष्य थियो, त्यो भने अन्तिमतिर आएर निर्वाचनलाई निषेध गर्ने जुन प्रयास नेतृत्वबाट गरियो त्यसले कहिँ न कहिँ कतै एमाले पाँचौ महाधिवेशन भन्दा अगाडि फर्किन त खोजेको होइन भन्ने खालको सन्देश गयो ।
भीम रावल तथा घनश्याम भुसालका कारण बरु एमालेको लोकतान्त्रिक साख जोगियो । महाधिवेशन प्रतिनिधिहरु सहमति गरेर तलैबाट लग्ने जुन काम गरियो त्यसले ओलीका पक्षधरहरु देशबाटै छानिएर आएका छन् भन्ने थाहा हुँदाहुँदै र निर्वाचनमा पराजित हुन्छौं भन्ने जान्दा जान्दै पनि केही नेताहरुले निर्वाचनमा उठ्ने साहस देखाए । त्यही साहसले एमालेमा लोकतन्त्र जीवित छ, मरेको छैन भन्ने अवस्था सृजना गर्यो ।
अन्यथा एक ढंगले स्याल हुइयाँ जस्तो अवस्था सृजना गरियो । किनकि विधान महाधिवेशन वा अहिलेको महाधिवेशनमा के कारणले गर्दा दुई तिहाइको सरकार सडकमा पुग्यो भन्ने विषयमा छलफल गरिनु पथ्र्यो त्यो भएन ।
चार वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको, छ वटा प्रदेशमा सरकारमा सामेल भइरहेको एमाले के कारणले गर्दा प्रदेशहरुबाट पनि सडकमा पुग्यो त्यसको आत्मनिरीक्षण हुनुपथ्र्यो, त्यसको मूल्याङ्कन हुनुपथ्र्यो त्यो भएन ।
महाधिवेशनमा आफ्नो त्यही गल्ती ढाकछोप गर्ने कोशिश थियो ओलीको । अर्को ढाकछोप भनेको कार्यकर्तालाई केही न केहीमा उल्झाउने । अन्यथा दुई महिनाको अन्तरालमा दुई, दुई वटा ठूला महाधिवेशन गर्नुपर्ने के जरुरत थियो ? आखिर विधान महाधिवेशनले पारित गरेको विधान त चितवनमा आएर संशोधन भइहाल्यो ।
यस महाधिवेशनमा विधान पारित गरेर, नेतृत्व चयन गरेर विचारमा छलफल गरेर गएको भए पनि त्यसले केही फरक पर्ने त थिएन । यति जान्दा जान्दै पनि यसको निहित आशय चाहिँ के थियो भने कार्यकर्ताहरुलाई हतोत्साहित हुनबाट जोगाउने ।