भारतका पराग अग्रवाल ट्वीटरका नयाँ प्रमुख
विश्वकै सबैभन्दा ठूलो सामाजिक नेटवर्क ट्वीटरका नयाँ प्रमुख कार्यकारीका रुपमा भारतका ३७ वर्षीय पराग अग्रवाल नियुक्त भएका छन् । पूर्व सिइओ ज्याक डोर्सीले उनलाई अत्यन्तै नम्र, बुद्धिमानी, जिज्ञासु अनि धेरै माग भएका व्यक्ति भनेर व्याख्या गरेका छन् ।
उनी दश वर्ष अगाडि ट्वीटरमा आबद्ध भएका हुन् । त्यतिबेला कम्पनीमा एक हजार भन्दा कम कर्मचारी थिए । सुरुवातमा उनी केबल सफ्टवेयर इन्जिनियर मात्र थिए । त्यसपछि प्रविधि प्रमुख बन्दै डोर्सी भन्दा एक कदम तलको पदमा काम गर्न थालेका हुन् । त्यसैले ट्वीटर जस्तो विश्वप्रख्यात कम्पनीको प्रमुख बन्ने यात्रामा उनी सधैँ स्थिर भएर बिस्तारै अघि बढेका हुन् ।
अग्रवाल आश्चर्यजनक रुपमा सबैको केन्द्रबाट टाढै रहँदै आएको हुनाले पनि डोर्सीको घोषणा पश्चात् उनीबारे अधिक चर्चा सुरु भएको हो । सार्वजानिक रुपमा उनी अन्य ठूला कम्पनीका प्रमुखहरु जस्तो सक्रिय छैनन् । उनी भारतीय मूलका अमेरिकी प्राविधिक विज्ञ हुन् जो यसअघि सधैँ पूर्व सिइओ डोर्सीको छाँयामा रहेर ट्वीटरलाई अघि बढाइरहेका थिए । तर अब ३७ अर्ब बराबरको उक्त फर्मलाई सञ्चालन गर्न अग्रवालले अगाडि आएर प्रमुख नेतृत्वकर्ताको भूमिका निभाउनुपर्र्ने हुन्छ ।
धेरै मानिसहरुले अग्रवालको नाम पहिलोपटक डोर्सीको ट्वीटमै सुनेका छन् । अग्रवालले कम्पनीका आवश्यकताहरुलाई एकदमै राम्ररी बुझेको हुनाले पनि उनी जति उत्तम छनोट अर्को नहुने ज्याकले बताएका थिए । अग्रवालले कुनै पनि काममा आफ्नो पूरै मन र आत्मा लगाउने र हरेक दिन उनीबाट केही न केही सिक्न सकिने भनेर प्रशंसा गरेका थिए ।
अग्रवावलले मुम्बइमा कम्प्युटर सायन्स र इन्जिनियरिङको पढाइ पूरा गरिसकेपछि पीएचडी प्राप्त गर्न अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटी गएका थिए । उनले माइक्रोसफ्ट, याहू र एटी एण्ड टी ल्याब्समा पनि काम गरिसकेका छन् । कार्यकारी प्रमुखका रुपमा आफ्नो नयाँ भूमिकाबारे घोषणा भइसकेपछि उनले सबै कर्मचारीहरुलाई मेल गर्दै कम्पनीको नीति र पारदर्शितालाई आत्मसात् गर्दै आफू पनि सबै जस्तै बराबर भएको बताएका हुन् ।
ट्वीटरमा समेत शेयर गरिएको उनको इमेल यस्तो छ, “एक दशक पूरा भइसकेपनि मलाई हिजो जस्तै लाग्छ । त्यसैले म तपाईँहरुको ठाउँबाट गुज्रिसकेको छु । सबै उतारचढाव, चुनौति र अवरोध, जित अनि गलतीहरु भोगिसकेको छु । र ट्वीटरले सबैको जीवनमा पार्ने प्रभाव, हाम्रो निरन्तर प्रयास, उन्नति अनि आगामी दिनका अवसरहरुबारे म धेरै उत्साहित छु । म सबैले आफ्नो काम गर्ने ठाउँलाई माया गर्नुहोस् भन्ने चाहन्छु । र हामी सबै मिलेर काम गर्दा विशाल उपलब्धीहरु पनि सम्भव छ । धेरैले मलाई चिन्नुभएको छैन होला, कतिले राम्ररी चिन्नुभएको छ । तर हामी सबै आफूलाई सुरुवाती चरणमै भएको ठानेर भविष्यतर्फ पहिलो कदम अगाडि बढाऔँ । ”
अग्रवालले लामो समय अगाडिदेखि नै आफूले काम गर्ने ठाउँलाई माया गरौँ भन्ने किसिमको सन्देश जोड दिँदै आएको पाइन्छ । त्यसैले एकसाथ मिलेर काम गर्दाका असिमित उपलब्धीहरु हासिल गरि ट्वीटरको पूर्ण क्षमता दुनियाँलाई देखाउन पनि उनले लेखेका हुन् । हाल ट्वीटरले विभिन्न चुनौतिहरुको सामना गरिरहेको छ । जस्तै यसको प्रयोगकर्ताको वृद्धि अत्यन्तै न्युन स्तरमा भइरहेको छ ।
इन्स्टाग्राम र टिकटकको तुलनामा यसले युवा वर्गलाई आकर्षित गर्न सकिरहेको छैन । त्यसैगरी फेसबुक जस्तैगरी गलत सूचना प्रवाह र घृणात्मक सन्देशलाई लिएर पनि विवादित मानिदै आएको छ । यसका साथै ट्वीटरले लामो समयसम्म कुनै नयाँ फिचर लन्च नगरेर पनि आफ्ना प्रतिस्पर्धीबाट पछि परिरहेको आलोचना खेप्दै आएको छ । यस्तोमा अग्रवालले आगामी दिनहरुमा अनगिन्ती चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । गार्जियनबाट