देउवाको गृहप्रदेशमा पकड बढाउँदै संस्थापन इतर समूह

जनपत्र
१५ मंसिर २०७८, बुधबार ०६:२०

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन इतर (पौडेल) समूहले पकड बढाउँदै गएको छ। कांग्रेसको आन्तरिक शक्ति संघर्षमा संस्थापन (देउवा समूह) को सुदूरपश्चिममा बलियो पकड छ। तर, पछिल्लो समय संस्थापन इतर (पौडेल) समूहले पनि देउवाको गृहप्रदेश सुदूरपश्चिममा आफ्नो शक्ति बढाउँदै लगेको हो। प्रदेशमा १३ औँ महाधिवेशनको तुलनामा १४ औँ महाधिवेशनमा संस्थापन इतर समूह रक्षात्मक अवस्थामा पुगेको नेताहरु दाबी गर्छन्।

‘१३ औँ महाधिवेशन भन्दा १४ औँ महाधिवेशनमा हामी राम्रो अवस्थामा पुगेका छौँ,’ पौडेल निकट एक नेताले भने, ‘नेतृत्वले एकलौटी गर्दा पनि यो अवस्थामा पुग्नु हामीले सफलता नै मानेका छौँ।’ ती नेताका अनुसार १३ औं अधिवेशनमा सुदूरपश्चिममा संस्थापनइतर पक्षले प्रतिनिधि चयनदेखि जिल्ला अधिवेशनमा २० प्रतिशत चुनाव जितेको थियो। तर, यसपटक यो संख्या बढेर करिब ४० प्रतिशतको हाराहारीमा पुगेको उनको दाबी छ।

सुदूरपश्चिमबाट केन्द्रीय महाधिवेशनका लागि ४ सय जना र प्रदेशका लागि ५ सय ४४ जना गरी ९ सय ४४ प्रतिनिधि चयन भएका छन्। तीमध्ये ३ भन्दा बढी प्रतिनिधि संस्थापन इतर समूहका रहेको दाबी छ। देउवाको बलियो पकड रहेको सुदूरपश्चिममा तीन जिल्लाको सभापति संस्थापन इतर समूहले जितेको छ। ९ जिल्ला रहेको सुदूरपश्चिमका ७ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। तीमध्ये ४ जिल्लामा देउवा र ३ जिल्लामा पौडेल निकट उम्मेदवार सभापति बनेका हुन्।

कैलाली र अछाममा भने जिल्ला अधिवेशन हुन सकेको छैन। नेपाली कांग्रेस बैतडीको सभापतिमा पौडेल निकट नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जितेका छन्।
बैतडी उपसभापतिमा देउवा निकट वीरबहादुर बिष्ट मात्रै विजयी भए। अन्य विजयी पदाधिकारी पौडेल निकट हुन्।

दार्चुलामा देउवा निकट अमरसिंह धामी सभापतिमा पराजित भए। त्यहाँ पौडेल समूहका ललित सिंह बोहरा सभापतिमा विजयी भएका छन्। बाजुरामा पौडेल समूहका रामसिंह रावल सभापति बनेका छन्। यसअघि १३ औँ महाधिवेशनमा पौडेल समूहले सुदूरपश्चिमका ९ जिल्लामध्ये २ जिल्ला ९दार्चुला र बैतडी० मा मात्रै सभापति जितेको थियो। कञ्चनपुर, बझाङ, डोटी र डडेल्धुरामा भने देउवा समूहका नेता सभापति बनेका छन्।

‘अधिवेशनमा केही ठाउँमा संस्थापन पक्षकै नेताबीच प्रतिस्पर्धा भएको छ’ कांग्रेसका एक नेताले भने, ‘पौडेल समूहले तिनीहरूसँग मिलेर चुनाव लड्दा पदाधिकारी जितेको छ।’ कञ्चनपुरमा देउवा निकट नेता रमेश लेखक र एनपी साउद प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। एनपी साउदलाई पौडेल निकट मानिने संविधानसभा सदस्य दिवानसिंह बिष्टले सघाएका थिए।

नेपाली कांग्रेस कञ्चनपुर सभापतिमा रमेश लेखक निकट पदम बोगटी सभापति बनेका छन्। बोगटीसँग एनपी निकट संविधानसभा सदस्य बहादुरसिंह थापा पराजित भएका थिए। उपसभापतिमा साउद–बिष्ट प्यानलका मीनबहादुर सिंह, हरिशचन्द्र राना तथा सचिवमा हेमराज ओझा र भीमराज भट्ट विजयी भए।

यस्तै, बझाङमा पनि संस्थापन पक्षकै खडक बोहरा सभापति बनेका छन्। नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा पौडेल समूहका भूमिराज बडूलाई पराजित गर्दै देउवा समूहका नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। देउवाको गृहजिल्ला डडेल्धुराको सभापति भीमबहादुर साउद बनेका छन्। तर, निवर्तमान सभापति कर्ण मल्ल पक्षधरले अधिवेशन बहिस्कार गरेको छ।

क्रियाशील सदस्यता विवाद समाधान नभएको भन्दै उनीहरु अधिवेशन बहिस्कार गरेर केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसिरहेका छन्। देउवा समूहले पार्टीको विधान विपरित एकलौटी रुपमा अधिवेशन गरेका भन्दै दोस्रो पल्ट अधिवेशन हुनुपर्ने उनीहरुको माग छ।

‘राज्य र पार्टी सत्ताको दुरुपयोग गर्दै एकलौटी रुपमा अधिवेशन भएको छ, यो हामीलाई स्वीकार्य छैन,’ अनसनरत कांग्रेस नेता करुणाकर भट्टले भने, ‘बहुमत कार्यसमिति सदस्यलाई बाहिर राखेर अधिवेशन हुनु विधान विपरित छ।’ यद्यपी डडेल्धुराको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधता दिइसकेको छ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*