एमाले अध्यक्ष ओलीले लिए शपथ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सौराहामा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।
मंगलबार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन् ।
आफूले शपथग्रहण गरे लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।
नेकपा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग हारेका भीम रावल लामो समय मञ्चमा ओलीसँगै बस्नुभएको थियो ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विजयी पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिइरहँदा रावल र अर्का नेता घनश्याम भुसाल निराश देखिनुहुन्थ्यो । त्यसअघि मत परिणाममा ढिलाइ भएको बेला मञ्चमा सँगै बसेका ओली र रावलले बेला–बेला कानेखुसी गरेको पनि देखिन्थ्यो । भीम रावलले मास्क खोल्नुभएको थिएन भने घनश्याम भुसाल मास्कविनै मञ्चको पछिल्लो भागमा बस्नुभएको थियो ।