बझाङमा महिलाकाे सक्रियतामा घरघरमा स्वच्छ खानेपानी
बझाङ – घरघरमा खानेपानी पुगे पछि बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरी गाउँका स्थानीय बासिन्दा दङ्ग परेका छन् ।
खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका उनीहरु अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका हुन् ।
घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम गरेका हुन् ।
छडाेखाेला खाेरी खानेपानी सरसफाइ याेजना उपभाेक्ता समितिका सहसचिव बसन्ती बुढा महिला जागरुक भए जस्तासुकै काम सहजै सम्पन्न गर्न सक्ने बताउनुहुन्छ । आफूसहित र अन्य महिलाकाे सक्रियतामा याेजना सम्पन्न गरेसँगै समाजमा महिला भनेर हेर्ने दृष्टिकाेणमै केही परिवर्तन आएकाे अनुभव उहाँले सुनाउनु भयाे । साथै उहाँले यसरी हुने याेजनामा महिला सहभागिता भए हिंसा र दुर्व्यवहारका घटनामा कमी आउनसक्ने विश्वास व्यक्त गर्नुभयाे ।
गाउँमा कुनै याेजना आउँदा उपभाेक्ता समितिमा पुरुषहरु रहने तर महिलाहरु भने छड्के साक्षीमात्रै बन्ने प्रचलन रहेकाे उहाँकाे गुनासाे छ । यस याेजनाकाे उपभाेक्ता समितिमा भने महिलाहरु बसेकाे र केही पुरुषहरुलाई मात्रै समितिमा समावेश गराइएकाे समितिका अध्यक्ष सुनिता बुढाले बताउनुभयाे । सुरुवातमा आफ्ना याेजनालाई हाँसाेकाे रुपमा लिए पनि याेजना सम्पन्न गर्दैगर्दा अन्य पुरुषहरुकाे पनि साथ पाएकाे उहाँकाे भनाइ छ ।