अख्तियार हेटौंडाको कार्यालयद्वारा भ्रष्टाचार विरुद्ध सामुदायिक शिक्षा कार्यक्रम
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनमा आज बारा जिल्लाको फेटा गाउँपालिका वडा नं ३ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा भ्रष्टाचार विरुद्ध सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्ध विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने रणनीति अनुसार फेटा गाउँपालिका क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य संघ संस्थालाई सुशासन र भ्रष्टाचार निवारणसम्बन्धी सचेतना र शिक्षा प्रदान गर्ने, आयोगको काम कारबाहीको बारेमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्र. सापकोटाले भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संस्था तथा नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यालयका शाखा अधिकृत नर बहादुर आलेले भ्रष्टाचारको सैद्धान्तिक पक्ष र आयोगका काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले मन्तव्य राख्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमको संख्यालाई थप गर्दै जानु पर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका कक्षा १०/१२ मा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय भद्र भलादमी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरू समेत गरी ९६ जनाको उपस्थिति रहेको थियो ।