जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी
काठमाण्डाै – जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले आज सोमवार जानकारी दिनुभयो । अफ्रिकी देशहरूमा कोरोना भाइरसको नयाँ संस्करणको रूपमा देखिएको ‘ओमिक्रोन’ को महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।
‘हामीले चाँडै नै विदेशबाट आउनेहरूलाई देश प्रवेशमा रोक लगाउनेछौँ, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरिका कुनै पनि देशबाट आउनेहरूलाई रोक लगाउन लागिएको हो’, प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नोभेम्बर ३० तारिखदेखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिनुभयो । जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै धेरैजसाे नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरूलाई परीक्षणमा कडाइ गरिएको थियो ।
तर गएकाे नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरूलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकाहरूलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गएकाे शुक्रवार नै अफ्रिकी ६ देशबाट जापान आउनेहरूलाई कम्तीमा १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।
यस्तो नियम अन्य देशबाट आउनेहरूलाई पनि बढाउँदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिनुभयो । ‘’कोरोना भाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रूपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रूपमा उभिने छ, प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नयाँ भाइरसबाट जोगिन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्थाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको ज्यान गएकाे छ भने ७६ दशमलव ५ प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिएको छ ।