म्याग्दीमा गर्भ तुहिने तथा मृत शिशु जन्मने समस्या बढ्यो

जनपत्र
१३ मंसिर २०७८, सोमबार १२:४०

म्याग्दी – म्याग्दीमा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।

बेनी अस्पतालमा रहेको मातृ तथा नव शिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपीडीएसआर)को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो ।

तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।

त्यही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै ज्यान गयाे । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एक जना आमाको सुत्केरीपछि रक्तश्रावका कारण ज्यान गयाे। तीन जना नवजात शिशुले ज्यान गुमाए । आव २०७७/७८ मा २० जना गर्भवतीले जीवित शिशु जन्माउन सकेनन् । दुई नवजात शिशुको जन्मेको एक हप्ताभित्रै ज्यान गएकाे थियाे ।

यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा पुगेका गर्भवतीको मात्र भएको अस्पतालको मातृ शिशु सम्पर्क व्यक्ति मनदेवी गौतमले जानकारी दिनुभयो । ‘सामान्यतया गर्भ रहेको तीन महिनाभन्दा पहिला भ्रूण आफैँ बाहिरिने समस्या लिएर गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन्, अभिलेख पनि राखिँदैन’, उहाँले भन्नुभयो, ‘सुत्केरी हुने समय पुग्नै लाग्दा पेटमा बच्चा चलेन भन्दै आउँछन् । जाँच गर्दा मृत्यु भइसकेको हुन्छ । कति त पेटमै बच्चा सडिसकेको अवस्थामा आउँछन् ।’

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन नसक्दा पनि भ्रूण/शिशुको गर्भमै मृत्यु हुने अस्पतालका प्रमुख  डा.जितेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमाको गर्भबाट भ्रूण वा शिशु २८/३० हप्तासम्म गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भ तुहिनु/खेर जानु भनिन्छ ।

गर्भावस्थामा गाह्रो काम गर्दा, गम्भीर चोटपटक लागेमा, जथाभाबी औषधि सेवन गरेमा, शरीरमा हर्मोनको असन्तुलन भएमा, यौनजन्य रोग लागेमा, पाठेघर असामान्य भएमा, पाठेघरभित्र अनावश्यक तन्तु वृद्धि भएमा, उमेर नपुगी गर्भ धारण गरेमा र गर्भको भ्रूणमा क्रोमोजोम खराब भएमा गर्भ खेर जाने वा मृत जन्मने समस्या आउने डा. कँडेलले बताउनुभयो ।

‘गर्भमा शिशु पूरा आयु नरहने समस्या अक्सर वंशाणुगत अर्थात भ्रूणमा जेनेटिक डिफेक्ट रहेछ भने प्राकृतिकरुपमा भ्रूण गर्भमा बस्न सक्दैन, आफैँ निक्लन्छ तर हाम्रोमा अधिकांश भ्रूण परिपक्व भएपछि वा गर्भको बच्चालाई जीवित जन्माउन सकिने सम्भावना रहे पनि असावधानी/सचेतनाको कमीले मृत शिशु जन्माउने धेरै छन्’, उहाँले भन्नुभयो ।

कहिलेकाहीँ गर्भ ३८/४० हप्ता आयु पुगेपछि पनि अचानक गर्भमै मृत्यु पनि हुन सक्छ ।

‘अधिकांश गर्भवती गर्भको चार पटक परीक्षण गराउँदैनन् । नियमित गर्भ परीक्षण नहुँदा पाठेघरमा शिशुको अवस्थिति, पाठेघरको अवस्था र अन्य जटिलता थाहा हुँदैन । एक्कासि बच्चा चलेन भन्दै आउँछन् । बच्चा पेटभित्रै मरिसकेको हुन्छ । तीन महिनाभित्रको भ्रूण जाने/तुहिने घटना त अभिलेख नै गरिँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*