नेपाली महिला टिम टी–२० विश्व कपको ग्लोबल छनाेटमा पुग्न असफल
काठमाण्डाै – नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनाेटमा पुग्न असफल भएको छ । एसिया छनाेट अन्तर्गत आज आइतवार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनाेटमा पुग्न असफल भएको हो ।
ग्लोबल छनाेटमा पुग्न नेपालले आज यूएईलाई फराकिलो अन्तरले हराउनुपर्नेमा उल्टै हार बेहाेर्याे । यूएईले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन् । अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले चार विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाइन् । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई, सीता राना मगर र संगीता राईले एक/एक विकेट लिए ।