कांग्रेस बागमती प्रदेश सभापतिमा प्रधानको उम्मेदवारी घोषणा
हेटौंडा । कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिबार काठमाडौंको शान्तिवाटिकामा घोषणासभा आयोजना गर्दै प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । सभामा प्रधानलाई वाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका थिए ।
नेता प्रधानले केन्द्रीय सदस्य हुमागाईंको प्रस्तावमा आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । हुमागाईं र प्रधान दुवै नेता कृष्णप्रसाद सिटौला निकट हुन् । तर, प्रधान निकट एक नेताका अनुसार देशैभरि सिटौला समूहले सभापति शेरबहादुर देउवा पक्षसँग गठबन्धन गर्ने समझदारी बनेको बताए ।
‘मैले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु । म सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे हुँ, अहिले मलाई नेता कृष्ण सिटौलाले समर्थन गर्नुभएको छ, अरु नेताहरूले पनि सहर्थन गर्नुहुन्छ र प्रदेशका साथीहरूले प्रदेश सभापतिमा चुन्नुहुन्छ भन्ने विश्वास छ,’ प्रधानले भने ।
काठमाडौंसहित विभिन्न जिल्लामा देउवा–सिटौला पक्षबीच गठबन्धन भएको छ । प्रधान काठमाडौंका पूर्वजिल्ला सभापति हुन् । १२ औं महाधिवेशनमा जिल्ला सभापति बनेका उनी १३ औँ महाधिवेशनमा भने पराजित भए । २०३३ सालबाट राजनीतिमा सक्रिय उनी हाल काठमाडौं क्षेत्र नं। ६ बाट प्रतिनिधिसभाका सदस्य छन् । उनी प्राध्यापक संघका सभापति र रक्षामन्त्रीसमेत भइसकेका छन् ।
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । वाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ । प्रधानले आफ्नो टिमबाट को–को उम्मेदवार रहने भन्नेबारे भने खुलाएनन् । ‘सभापतिमा मैले उम्मेदवारी दिन्छु । अन्य पदका विषयमा गठबन्धन पनि हुनसक्छ । त्यसबारे अहिले छलफल भइरहेको छ,’ उनले भने । वाग्मती प्रदेशमा देउवा पक्षबाट वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ प्रदेश सभापतिका आकांक्षी छन् । तर, देउवाले बानियाँलाई मुख्यमन्त्री बनाउने र प्रधानलाई प्रदेश सभापति बनाउने गरी सिटौलासँग समझदारी गरेको स्रोतको दाबी छ ।