आफ्नै भवन नहुँदा सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्म समस्यामा
सोलुखुम्बु – सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्मको आफ्नै भवन नहुँदा समस्या भएको छ ।
झण्डै ४ वर्ष अघि सोलुखुम्बुमा स्थापना भएको सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन नहुँदा सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुको तत्कालीन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको छ ।
मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा पीटी, परेड लगायतका दैनिक क्रियाकलापमा समेत समस्या भइरहेको सशस्त्र प्रहरीका डीएसपी दिनेश शर्माले बताउनुभयो ।
उहाँका अनुसार मापदण्ड अनुसार कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि अहिले एक रोपनी जग्गामा खुम्चिएर बस्नुपरेको छ । गुल्ममा १ सय २० जनाको दरबन्दी भए पनि ठाउँ अभाव र दरबन्दी व्यवस्थापन गर्न नसक्दा अहिले ७० जना मात्रै रहेको कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन निर्माणको लागि जग्गाको ठूलो समस्या देखिएको छ । जिल्ला सुरक्षा समितिले जग्गा तथा भवन व्यवस्थापनका लागि प्रधान कार्यालयलाई पत्राचार गरिएको जनाएको छ ।