हुम्लाको नाम्खाका लागि ढुवानी भएको चामल सदरमुकाममै रोकियो, हेलिकप्टरको टुङ्गो लागेन
काठमाण्डाै – खाद्यान्नको सङ्कट भएको हुम्लाको नाम्खाका लागि सरकारले खाद्यान्न ढुवानी सुरु गरे पनि सम्बन्धित ठाउँमा पुग्न भने अझै समस्या भएको छ । सुर्खेत र कैलालीबाट ९० क्विन्टलभन्दा धेरै चामल पठाएको भए पनि हुम्लाको सदरमुकाममा रहेको श्रीनगर डिपोमै थन्किएको छ ।
सदरमुकामसम्म स्थलमार्ग हुँदै लगिए पनि त्यहाँबाट सम्बन्धित ठाउँमा लैजानका लागि बाटो बिग्रिएकाले समस्या भएको हो । नाम्खामा खाद्यान्न लैजानका लागि हेलिकप्टरबाहेक विकल्प नभए पनि हेलिकप्टरमार्फत सम्बन्धित ठाउँमा लैजाने बारे भने सरकार अझै अलमल नै छ ।
हिजोदेखि नै खाद्यान्न पठाउन हेलिकप्टरको व्यवस्था गर्ने भने पनि सेनाको हेलिकप्टर बिग्रिएकाले पठाउन नसकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले बताउनुभयो । उहाँले भोलिसम्ममा जसरी भए पनि हेलिकप्टरको व्यवस्था गरेर सम्बन्धित ठाउँमा खाद्यान्न पुर्याउने बताउनुभएको छ ।
गृह मन्त्रालयले हिजोदेखि नै हिल्साबाट लिमीमा खाद्यान्न ढुवानी गर्ने भनेको थियो । त्यही भएर हेलिकप्टरमा खाद्यान्न लोड गर्न लिमीबाट १२ जना स्थानीय हिल्सा पुगेर बसिरहेका छन् । हिमपातका कारण हिल्सामा बस्न सजिलो छैन, तर सरकारले ढिलाइ गर्दा कहिलेसम्म बस्ने भन्ने अझै टुङ्गो नभएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले बताउनुभयो ।
नाम्खामा खाद्य सङ्कट अझै चुलिँदै गएको छ । हुम्लामा महिनामा १२ देखि १५ सय क्विन्टल चामल चाहिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । तर कात्तिकदेखि नाम्खामा खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको सङ्कट बढ्दै गएको हो ।