बजारमा हिउँदे तरकारी आउन थालेपछि मूल्य घट्दै
काठमाण्डाै – बजारमा हिउँदे तरकारी आउन थालेसँगै मूल्य घट्न थालेको छ । अब हिउँदे सिजनका तरकारी आउन थालेकाले मूल्य घट्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भयो ।
बजारमा आइपुगेकाे केही ताजा तरकारीको मूल्य घट्न थालिसकेको छ । तितेकरेलाको खुद्रा मूल्य प्रतिकिलो ११० बाट ९० रुपैयाँमा झरेको छ । यस्तै ताने बोडी, घ्यु सिमी, मटरकोसा, बन्दा, स्थानीय काउली, स्कुस, रायो साग लगायतका तरकारीमा पाँच रुपैयाँदेखि २० रुपैयाँको दरले मूल्य घट्दै गएको छ ।
काठमाण्डौ उपत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरसहित तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । यी ठाउँबाट केही हिउँदे तरकारी बजार भित्रिन थालेको व्यापारीहरूको भनाइ छ । तर, अहिले मागअनुसार हरियो तरकारी बजारमा भित्रन भने पाएको छैन ।
कात्तिककाे पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण तरकारी बालीमा नोक्सानी पुग्दा पनि बेलैमा बजारसम्म तरकारी आउन नसकेको हो। अबको केही समयपछि माग अनुसारको हिउँदे तरकारीको ढुवानी सुरु हुने र भाउ घट्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो।