नवप्रवेशी सातदोबाटोले तीन पटकको च्याम्पियन थ्री स्टारलाई हरायो
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी क्लब सातदोबाटोले थ्री स्टारलाई हराएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएकाे खेलमा सातदोबाटो युथ क्लबले तीन पटकको च्याम्पियन थ्री स्टारलाई एक–शून्य गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा सुदीप गुरुङले खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यो जितसँगै सातदोबाटोले दुई खेलमा चार अङ्क जोडेको छ । सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई तीन–शून्यले हराएको थियो ।