एमाले महाधिवेशनको आकर्षण गैँडाको मस्कट
चितवन – एमालेले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनमा हँसिया हथौडा अङ्कित झण्डा बोकेको गैँडाको मस्कटले धेरैको ध्यान तानेको छ ।
महाधिवेशनको लोगोमै अङ्कित भएको गैँडाको मस्कटलाई मञ्चको दाहिनेतर्फ राखिएको छ । यसले महाधिवेशनमा आकर्षण त बढाएको छ नै साथै गैँडा संरक्षणमा लागेका संरक्षणकर्मीहरू पनि खुशी छन्।
एमालेले गैँडालाई मस्कटको रुपमा प्रयोग गर्दा गैँडा संरक्षणमा एकैपटक व्यापक सन्देश प्रवाह भएको संरक्षणकर्मीहरूको भनाइ छ।
गैँडाको मस्कटले महाधिवेशनमा सहभागी धेरैको ध्यान खिचेको छ । सेल्फी र फोटो खिच्नेहरुको भीड नै देखिन्छ मस्कट राखेको ठाउँमा । भुइँमा ढुङ्गाको आकार निकालेर अबिर राखेर चुनाव चिह्न सूर्य बनाइएको छ। त्यसमाथि हँसिया हथौडा अङ्कित झण्डा बोकेको गैँडाको मस्कट छ ।
एमालेले कात्तिक २६ गते गैँडाको मस्कटसहितको लोगो सार्वजनिक गरेको थियो। लोगोमा मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ। कलाकार सूर्य मध्यरातको समूहले १० दिन लगाएर मस्कट बनाएका हुन्। मस्कटसँग सेल्फी र फोटो खिच्न बुधवारदेखि नै सहभागीको घुइँचो लागेको छ।
‘एक सिङ्गे गैँडा’ पर्यटकीय नगरि चितवनको विशेषता मानिन्छ । पर्यटकहरु गैँडा हेर्नका लागि चितवन पुग्ने गर्छन् । विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणमा नेपालले धेरै अघिदेखि अभियान नै चलाएको छ। पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ७ सय ५२ र चितवनमा मात्रै ६ सय ४५ गैँडा रहेका छन् ।