एमाले महाधिवेशन : उद्घाटनस्थलमा चहलपहल बढ्दै, विभिन्न ठाउँबाट र्‍याली सुरु

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ११:५०

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

मञ्चमा नेताहरु बस्न थालिसकेका छन् भने मञ्च अघिल्तिर पनि कार्यकर्ताको घुइँचो बढेको छ । चितवनका विभिन्न ठाउँबाट जुलुस सुरु भएको छ । जुलुस उद्घाटनस्थलमा पुगेपछि सभा सुरु हुने एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनको उद्घाटन हुने ठाउँ चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार पारिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ ।

मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको मञ्च निर्माणको नेतृत्व गरेका एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ ।

 

अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको श्रेष्ठको भनाइ छ ।

मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ । साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ ।

उद्घाटनस्थल नजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ । एमालेको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*