एमाले महाधिवेशन : धादिङको सडकमा गाडीको जाम, काठमाण्डौसम्मै असर
काठमाण्डाै – चितवनमा सुरु हुन लागेको एमालेको राष्ट्रिय महाधिवेशनका कारण सडकमा जाम भएको छ ।
विभिन्न ठाउँबाट एमालेका नेता कार्यकर्ता गाडी रिजर्भ गरेर चितवन जाँदै गरेकाले सडकमा जाम भएको हो । धादिङको खानीखोला लगायतका ठाउँमा बिहानैदेखि गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने मुख्य राजमार्ग भएकाले यहाँ गाडीको चाप बढेको हो ।
गाडीको चाप बढेपछि प्रहरीले काठमाण्डौको थानकोटमा गाडी ‘होल्ड’ गरेको छ । महाधिवेशनमा जाने र निजी गाडीलाई पास गराए पनि ठूला गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । जाम खुलेपछि होल्ड गरेर राखिएका गाडी पठाइने ट्राफिक प्रहरीले जनाएको छ ।
एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रममा पाँच लाख जना सहभागी हुने दाबी गर्दै आएको छ । महाधिवेशनको उद्घाटन केहीबेरपछि नारायणघाटको नारायणी नदी किनारमा हुँदैछ ।