कुलमान विरुद्ध किन बौलाए अमनलाल मोदी ? यस्तो छ भित्री कारण

नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।
यसले गर्दा दुहवीबाट विद्युत् लागी सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणले जनाएको छ । कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसुनवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन । कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकिएन भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ । स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।
मोदीले स्थानीयको मागलाई साथ दिंदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सवस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले संचालनमा ल्याउन सकेको छैन ।
प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, मन्त्री पुनको अग्रहलाईसमेत मोदीले मानेका छैनन् । स्रोतका अनुसार, त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेका हुन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ ।
सबस्टेसन संचालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन । मोदीले उद्योगी व्यवसायीलाई समेत धम्क्याएर चन्दा माग्ने गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग पनि पाँच लाख चन्दा मागेको बताइन्छ ।
आजकोअर्थबाट