‘टुल्की’ सेन्सर पास, तर रिलिज अन्योल

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:१०

नेपालमा फिल्मको सेन्सर प्रायः प्रदर्शनभन्दा एकरदुई दिन अगाडि मात्र गर्ने प्रचलन छ । सिनेमा हलमा प्रदर्शनका लागि फिल्मको अनिवार्य सेन्सर गर्नुपर्ने भएकाले मेकरहरु फिल्मको सम्पूर्ण काम सकेर रातारात सेन्सरका लागि दौडिन्छन् । नेपालमा सेन्सर पाए भएपछि मात्र फिल्म रिलिज गर्न पाइन्छ । केही निर्माता भने रिलिजको टुंगो नहुँदै फिल्मको सेन्सर गरेर ढुक्कसँग बस्ने गरेका छन् ।

बहुपति प्रथामा आधारित भएर निर्माण भएको फिल्म ‘टुल्की’ को पनि निर्माण टिमले प्रदर्शन मिति घोषणा नगर्दै सेन्सर गरेको छ । बुधबार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबैले हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएको छ । २ घन्टा १४ मिनेट लामो फिल्ममा लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायांकन तथा निर्देशन, आरपि कर्माचार्य र शेखर लामाको लगानी छ ।

शेखर लामाको प्रस्तुति रहेको फिल्ममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय छ । ब्राम्हण बस्तिमा जन्मिएकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई फिल्ममा उतारिएको निर्माण टिमले जनाएको छ ।
करिब चार वर्षको अध्ययनपछि फिल्म निर्माण गरेको निर्माता शेखर लामाले बताए । ‘टुल्की’ सेन्सर पास भए पनि प्रदर्शन मिति अन्योल छ । निर्माण टिमले फिल्मलाई नेपालभन्दा पहिले अन्तर्राष्ट्रिय महोत्सवहरुमा पठाउने तयारी गरेको छ । निर्माता लामाका अनुसार, अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिने सोचका साथ फिल्म निर्माण गरिएको हो । फिल्मको टिजर सार्वजनिक भइसकेको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*