जहाँ भिड हुन्छ त्यहाँ काेराेनाविरुद्धकाे खाेप लगाउने व्यवस्था गर्नुहाेस् : मन्त्री खतिवडा

जनपत्र
९ मंसिर २०७८, बिहीबार १९:१०

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जहाँ भिड हुन्छ त्यहाँ काेराेनाविरुद्धकाे खाेप सेवा सञ्चालन गर्न आग्रह गर्नुभएकाे छ । स्वास्थ्यमन्त्री खतिवडाले आज बिहीवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग खोप सहजीकरणबारे छलफल गर्दै यस्ताे बताउनुभएकाे हाे ।

उहाँले प्रमुख जिल्ला अधिकारीहरूलाई कोरोनाविरुद्धको खोप गाउँ तहसम्म पुर्‍याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट वारअनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकाले त्याे ठाउँमा गएर पनि खोप डेस्क सञ्चालन गरी नागरिक समक्ष खोप पुर्‍याउन आग्रह गर्नुभयो । मन्त्री खतिवडाले गाउँ/गाउँका नागरिकलाई खोप लगाउन आउँदो चुनावमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सभा–सम्मेलन, अलिकति भिडभाड हुने ठाउँ, बस स्टप, मेलापात, सप्‍ताह, पुराण यस्ता अनेकौँ ठाउँ छन्, त्यो ठाउँ थाहा पाएपछि हामी त्यहाँ गएर डेस्क राखिदिन सक्छौँ । जस्तो अहिले चितवनमा सम्मेलन हुँदैछ, चितवनमा आजै बेलुकादेखि सक्नुहुन्छ भने १०/१५ ठाउँमा डेस्क राखिदिनुस्, मलाई लाग्छ त्यहाँ केही नभए पनि २०/५० हजारले थप खोप सुविधा लिनेछन् । त्यस्तै अर्को पार्टीको प्रतिनिधि छान्ने अभियान चलिरहेको छ, त्यो अभियान गर्ने क्रममा हजार, दुई हजार, चार हजार मानिस जम्मा भएको देखिरहेको छु । मतदान गर्नलाई त्यस्तो ठाउँ अझै कुनै जिल्ला बाँकी छन् भने हाम्रा स्वास्थ्यकर्मीलाई पठाउनुस् । काठमाण्डाैकाे असनतिर धेरै भिड हुन्छ, त्यहाँ डेस्क राखिदिनुस्, जिल्लाको मालपोत, सीडीओ कार्यालय त्यहाँ धेरै भिड हुन्छ, त्यहाँ डेस्क राखेर खोप सञ्चालन गर्नुहोस् ।’

मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरूमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरूसँग समन्वय गरी चाँडै वडाध्यक्ष र गाउँपालिकाका प्रमुखलाई बोलाएर छलफल गर्न आग्रह गर्नुभयो । उहाँले गाउँबाट कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क आउन नसकेकाले त्याे तथ्याङ्क उपलब्ध गराउन यसले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरूले कोरोनाविरुद्धको खोप लक्षित समुदायमा पुर्‍याउन योजना बनाएर लागू गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश र पालिकामा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको मात्रा अपुग भए तत्काल केन्द्रीय सरकारसँग माग गर्न आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गइ खोप लगाउन सरकारले आह्वान पनि गरेको छ ।

अहिलेसम्म कुल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आउँदाे पुसभित्र दुई तिहाइ र चैतसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*